सरकारले वार्ता टोली गठन गरेपछि आन्दोलनरत मिटरब्याज पीडित जहाजबाट काठमाडौँ आउँदै छन्।
गृहमन्त्री सुधन गुरुङको सहजीकरणमा मिटरब्याज पीडित जहाजबाट काठमाडौँ आउन लागेका हुन्। उनीहरूलाई बाराको सिमरा विमानस्थलबाट काठमाडौँ पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
आन्दोलन मिटरब्याज पीडितले असार २५ गते जनकपुरबाट पैदलमार्च सुरु गरेका थिए। यसअघि पनि दुई पटक पैदल काठमाडौँ आएका उनीहरूले माग पूरा नभएपछि फेरि पैदल मार्च सुरु गरेका थिए।
उनीहरूसँग वार्ता गर्न गृहमन्त्री गुरुङ बारा पुगेका थिए। गृहमन्त्रीसँगको छलफल निश्कर्षमा पुग्न सकेको थिएन।
त्यसपछि आजै बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता टोली गठन गरेको छ। वार्ताका लागि मिटरब्याज पीडितको वार्ता टोली काठमाडौँ आउन लागेको हो।
मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा महासचिव मनोजकुमार पासमान, प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार र संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन्।
Shares

प्रतिक्रिया