समाज


सुन्धारा कारागारबाट मध्यरातमा भागिन् महिला कैदी, १५ घण्टापछि थाहा पायो प्रशासनले

सुन्धारा कारागारबाट मध्यरातमा भागिन् महिला कैदी, १५ घण्टापछि थाहा पायो प्रशासनले

नेपालखबर
जेठ ३, २०८३ आइतबार १४:४७, काठमाडौँ

केन्द्रीय कारागार सुन्धाराबाट महिला कैदीबन्दी फरार भएकी छन्। शुक्रबार राति महिला बन्दी गृहमा कैद भुक्तान गरिरहेकी नुवाकोटको विदुर नगरपालिका १३ की २५ वर्षकी सपना तामाङ पर्खाल नाघेर फरार भएको कारागारका जेलर कृष्ण चापागाईँले बताए। 

सपना चारवटा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भइ जन्मकैद भुक्तान गरिरहेकी थिइन्। अपहरण, शरीरबन्धक, कर्तव्य ज्यान र डाँकाचोरीको मुद्दामा अदालतले दोषी ठहर गर्दै जन्म कैद सुनाएको थियो।

यी कसुरमा उनी २०७७ पुस १६ गते पक्राउ परेकी थिइन्। फागुन ४ गते उनलाई केन्द्रीय कारागार सुन्धारा ल्याइएको थियो। तर शुक्रबार राति नै फरार भएको खुलेको छ। 

सपना फरार भएको कारागार प्रशासनले भने १५ घण्टा पछि मात्रै थाहा पाएको थियो। शुक्रबार राति १ बजेतिरै उनी कारागारको बाहिरी पर्खाल नाघेर फरार भए पनि शुक्रबार अपरान्ह कैदीबन्दी गणना गर्ने बेलामा मात्रै एक जना संख्या कम भएको पत्ता लागेको थियो। 

त्यसपछि कारागार प्रशासनले गेटका सुरक्षाकर्मीलाई यसबारे सोधखोज गरेको थियो। तर कोही पनि कैदीबन्दी बाहिरिएको त्यहाँ पनि रेकर्ड फेला नपरेपछि सीसीटीभी हेरिएको थियो। जसमा उनी पर्खाल नाघेर भागेको देखिएको छ।

कारागारका सुरक्षाका लागि डीएसपीको कमाण्डमा नेपाली प्रहरीको टोली छ। सपना भागेको विषयमा कारागार प्रशासनले पनि आन्तरिक छानबिन गरिरहेको जनाएको छ। 

फरार सपनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad