काठमाडौंको व्यस्त चक्रपथ सडकअन्तर्गत चाबहिल–गौशाला खण्डमा अर्बौँ लागतमा ‘अन्डरग्राउन्ड’ सुरुङमार्ग बन्ने भएको छ।
अर्थात् दैनिक हुने चरम ट्राफिक जाम व्यवस्थापनका लागि हालकै सडकमुनि सुरुङमार्ग निर्माणको तयारी गरिएको हो।
यसका लागि अध्ययन भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
जापानी सहयोग नियोग (जाइका)ले तयार पारिरहेको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना (काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम गुरुयोजना)मा उक्त खण्डमा भूमिगत सुरुङमार्ग निर्माणको प्रस्ताव छ।
सीमित सडक विस्तारको सम्भावना र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरआसपासको संवेदनशील क्षेत्रलाई मध्यनजर गरी सुरुङमार्गको प्रस्ताव गरिएको हो। सो आयोजना युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्ने भएकाले माथिल्लो संरचना निर्माण गर्न सम्भव नदेखिएपछि यसैलाई निर्विकल्प समाधान मानिएको छ।
तर भूमिगत सुरुङ निर्माण गर्नुअघि विश्व सम्पदा प्रभाव मूल्यांकन (एसआईए) अनिवार्य रुपमा गर्नुपर्ने जाइकाको प्रस्ताव छ।
चाबहिल–गौशाला सडक चक्रपथ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ क्षेत्र, बौद्ध, जोरपाटी तथा पूर्वी काठमाडौंलाई जोड्ने मुख्य प्रवेशद्वार हो।
दैनिक हजारौँ सवारीसाधन यही मार्ग प्रयोग गर्ने भएकाले सामान्य समयमा पनि सवारी चाप अत्यधिक हुने गरेको छ। कार्यालय खुल्ने र बन्द हुने समयमा भने यो सडकमा लामो जाम नियमितजस्तै बनेको छ।
उपत्यकामा बढ्दो ट्राफिक व्यवस्थापनका लागि यस खण्डको हालको चार लेनको सडकलाई यथावत् राख्दै भूमिगत सुरुङमार्ग निर्माण गर्दा सडकको सवारी क्षमता वृद्धि हुने जाइकाको अपेक्षा छ।
माथिल्लो सडकको सतहलाई अवरुद्ध नगरी हालकै चौडाइभित्र निर्माण सम्भव बनाउन टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिबाट दुई तहको सुरुङ निर्माण गर्न जाइकाले सुझाएको छ।
जाइकाको प्रस्तावअनुसार माथिल्लो तहबाट उत्तर (चाबहिल)तर्फ जाने सवारी र तल्लो तहबाट दक्षिण (गौशाला)तर्फ जाने सवारी सञ्चालन हुनेछ। यो व्यवस्था दक्षिणतर्फको चक्रपथसँग जोड्न सहज हुने भएकाले यस्तो प्रस्ताव गरिएको गुरुयोजनाको मस्यौदामा उल्लेख छ।

यसरी हुनेछ निर्माण
चक्रपथका अन्य खण्डजस्तै सडक फराकिलो बनाउन चाबहिल–गौशाला क्षेत्रमा पर्याप्त खाली जग्गा उपलब्ध छैन।
सडकको दुवैतर्फ बाक्लो बस्ती, व्यापारिक भवन, अस्पताल, विद्यालय तथा विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर छ।
साथै यो खण्डमा दैनिक लाखौँ संख्यामा सवारीसाधन सञ्चालन हुने भएकाले सडक अवरुद्ध गरी सुरुङमार्ग निर्माण गर्दा यस क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न निकै चुनौती हुनेछ।
माथिल्लो सतहबाट नियमित रुपमा ट्राफिक अवरुद्ध नहुने गरी टीबीएम प्रविधि प्रयोग गरी सुरुङमार्ग निर्माण गर्दा उपयुक्त हुने जाइकाको प्रस्ताव छ।
प्रस्तावअनुसार टीबीएमबाट सुरुङ खन्ने कार्य (लन्च स्याफ्ट) चाबहिल चोकको उत्तरतर्फ निर्माण गरिने र सुरुङ खन्ने कार्य गौशालातर्फ अघि बढाइनेछ।
लन्च स्याफ्ट निर्माणका लागि मन्दिरको विपरीत दिशातर्फ (दक्षिण भागमा)मा जग्गा अधिग्रहण आवश्यक पर्नेछ। आवश्यक चौडाइ कायम गर्न रिटेनिङ वाल निर्माण गरिनेछ।
लन्च स्याफ्ट क्षेत्रमा उत्खननबाट निस्किएको माटो तथा सुरुङका लागि आवश्यक प्रिकास्ट सेग्मेन्टहरुको ढुवानी गर्नुपर्ने हुन्छ। साथै, माटो र सेग्मेन्ट दुवैका लागि अस्थायी भण्डारण स्थल पनि आवश्यक हुनेछ।
नियमित सवारी सञ्चालन हुने सडकमा भूमिगत सुरुङमार्ग निर्माण गरिने भएकाले हेभी ट्रक सञ्चालनसम्बन्धी प्रतिबन्ध तथा टीबीएमको दैनिक उत्खनन गतिलाई ध्यानमा राखेर माटो र सुरुङ सेग्मेन्ट ढुवानीको विस्तृत यातायात योजना तयार गर्नुपर्ने जाइकाको सुझाव छ।
साथै यस आयोजना अघि बढाउनुअघि चाबहिल चोकको सुधार तथा पुनर्संरचना पनि आवश्यक हुने जाइकाले औँल्याएको छ।
भूमिगत सुरुङमार्गले गौशाला–चाबहिल खण्डको यातायात प्रणाली सुधार हुनुका साथै विद्युत्, खानेपानी, दूरसञ्चार, ढललगायतका युटिलिटी व्यवस्थापनलाई साझा युटिलिटीजस्तै व्यवस्थित गर्न सहयोग पुग्ने जाइकाको अपेक्षा छ।
आगलागी वा अन्य आकस्मिक अवस्थाका लागि तल्लो सुरुङमार्गमुनि आपत्कालीन उद्धार तथा निकास मार्ग पनि निर्माण गर्नुपर्ने प्रस्ताव छ।
सुरुङमार्गको लम्बाइ १ हजार ५६३ मिटर र चौडाइ १५.५ मिटरको हुनेछ। जसमा ६.५ मिटरको दुईवटा सवारी गुड्ने बाटो हुनेछ। भित्री सोल्डर ०.२५ मिटरको र बाहिरी सोल्डर १ मिटरको दुई/दुई वटा निर्माण गरिनेछ।
लागत ६५ अर्ब
चाबहिल–गौशाला खण्डमा भूमिगत सुरुङमार्ग निर्माण गर्न करिब ६८.५ अर्ब जापानी येन (६५ अर्ब रुपैयाँ) लाग्ने प्रारम्भिक अनुमान छ।
निर्माण खर्च, आकस्मिक खर्च, डिजाइन तथा प्राविधिक सेवा शुल्क, आयोजना व्यवस्थापन शुल्क, मूल्यअभिवृद्धि कर (भ्याट), जग्गा खरिद खर्च तथा भवन क्षतिपूर्ति खर्चसहितको हो।
जग्गा खरिद र भवनहरुको क्षतिपूर्तिका लागि मात्रै करिब ०.९१ अर्ब जापानी येन लाग्ने अनुमान गरिएको छ। जाइकाले सन् २०२३ देखि काठमाडौं उपत्यकाको सहरी यातायात प्रणाली गुरुयोजनामा काम गरिरहेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार उक्त गुरुयोजना जाइकाले २०२६ को अगस्टमा बुझाउने कार्यतालिका छ।
काठमाडौंको बढ्दो जनसंख्या र अव्यवस्थित यातायात प्रणालीलाई व्यवस्थित गर्न जाइकाले यसअघि दुई पटक गुरुयोजना तयार गरिसकेको छ। पहिलो पटक सन् १९९३ र दोस्रो पटक सन् २०१९ मा जाइकाले गुरुयोजना तयार गरेको हो।
तर यसअघि तयार गरिएको गुरुयोजना भने कार्यान्वयन भएको थियो। त्यसैले यो पटकको गुरुयोजना मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने शर्त जाइकाले राखेको छ।
विगतमा जाइकाले गुरुयोजना बनाउने तर कार्यान्वयन नहुने समस्या हुँदा यस्तो शर्त राखिएको हो। यो पटक गुरुयोजना मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने अडानमा जाइका छ।
मन्त्रिपरिषद्बाट पारित भएमा आयोजना कार्यान्वयनमा जाने जाइकाको बुझाइ छ।
Shares

प्रतिक्रिया