देशभर मौसम बदली र विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ।
अनि देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।
यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग साथै कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
हेर्नुहोस् शनिबारसम्मकै वर्षा सम्भावना

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

आज यी जिल्लामा बाढीको जोखिम
आज काठमाडौँसहित ३४ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा बाढी आउने र जोखिम निम्तिने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, पाल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
यसैगरी आज ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, दोलखा, रामेछाप र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
बाढीबारे विस्तृत जानकारी तल



Shares

प्रतिक्रिया