समाज


एसईई कापी जाँचमा विश्वसनीयताको प्रश्न, शिक्षक भन्छन्- क्रस सेन्टर हुनुपर्छ, कोडिङको व्यवस्था गरिनुपर्छ (भिडिओ)

‘कुन स्कुलको उत्तरपुस्तिका कहाँ परीक्षण हुँदैछ भन्ने थाहा हुनु समस्या’
एसईई कापी जाँचमा विश्वसनीयताको प्रश्न, शिक्षक भन्छन्- क्रस सेन्टर हुनुपर्छ, कोडिङको व्यवस्था गरिनुपर्छ (भिडिओ)

रोश्ना सुब्बा
जेठ १, २०८३ शुक्रबार १०:१२, काठमाडौँ

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यसपालि परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो। यो अभ्यास पहिलो हो। साथै एक महिनामै नतिजा सार्वजिनक गरिएको छ। विगतका वर्षमा तीन महिनामा परीक्षाफल सार्वजनिक हुने गरेको थियो। 

शिक्षामन्त्री सस्मित पोखरेलले परीक्षा सकिएको एक महिनामा नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका थिए। परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँचेर एक महिनामा परीक्षाफल निस्कनुलाई शिक्षकहरूले सकारात्मक रूपमा लिएका छन्।

भगवती मावि, काठमाडौँका प्रधानाध्यापक अनुप श्रेष्ठ भन्छन्, ‘स्थानीयस्तरमै शिक्षकहरूले कापी जाँच्ने अवसर पाए। पहिले यस्तो हुँदैनथ्यो। सारा जिन्दगी पढाउँदा पनि अवसर दिइँदैनथ्यो। विभिन्न ठाउँ धाउनुपर्थ्यो।’

अभिभावक तथा विद्यार्थीले ब्रिजकोर्सबाट मुक्ति पाएको पनि उनको भनाइ छ। लिटिल एन्जल्स स्कुल, ललितपुरकी अंग्रेजी विषय शिक्षक तारकेश्वरी श्रेष्ठलाई पनि ब्रिजकोर्स जस्ता कार्यक्रमले अभिभावकको आर्थिक बोझ घट्यो भन्ने लागेको छ। 

‘अहिले विद्यार्थी ११–१२ पढ्ने कि, अरू नै कार्यक्रममा भर्ना हुने भन्ने तयारीमा जुट्न पाएका छन्। परिवारसँग समय बिताउने, केही सिक्ने, कतै घुम्न जाने, आफ्नो इच्छा र रुचिको कुरा गर्न पाएका छन्। ब्रिजकोर्सले गर्दा यो अवसर गुमाउनुपरेको थियो।’

सिद्धबाबा मावि, गुल्मीका प्रअ डोरविक्रम श्रीष, शिक्षकलाई विश्वास गरिँदा समयमा नतिजा निकाल्न सकिँदो रहेछ भन्ने सन्देश दिएको बताउँछन्।

कुन स्कुलको उत्तरपुस्तिका कुन परीक्षा केन्द्रमा परीक्षण हुँदैछ भनेर थाहा हुने हुँदा कतै परीक्षणमा आग्रह, पूर्वाग्रह र दबाब परेको कुरा शिक्षकहरूबाट आइरहेको छ। कतै यस्तो अवस्था नआएको पनि प्रतिक्रिया आइरहेको छ। 

‘गुल्मी र अर्घाखाँचीका साथीभाइसँग बुझ्दा केही पालिकामा अलिअलि उदार भएर कापी परीक्षण भएको बुझिएको छ। कतै गतवर्षभन्दा नतिजा निकै बढेको छ,’ सिद्धबाबा माविका प्रअ श्रीष भन्छन्, ‘नजिकका विद्यालयका विद्यार्थी हुन् भनेर धेरै ठाउँमा उत्तरपुस्तिका राम्ररी पढेर जाँचिएको पनि छ। पहिले यस्तो कम हुन्थ्यो।’

लिटिल एन्जल्सकी शिक्षक श्रेष्ठ पनि कतै पूर्वाग्रह हुन सक्ने स्वीकार्छिन्, ‘राष्ट्रिय परीक्षा भनेपछि प्रतिस्पर्धाको भावना पनि आउँछ। अचेतन रूपमा पूर्वाग्रह हुन सक्छ। तर, प्राय: शिक्षक यसबाट टाढा हुन्छौँ। हामीले विद्यार्थीलाई केन्द्रमा राखेर निष्पक्ष भएर गरेका छौँ। जुनसुकै स्कुलको विद्यार्थी किन नहोस्, उसलाई अन्याय हुनुहुँदैन भन्नेमा शिक्षकमा चेतना हुन्छ।’ 

भगवती माविका प्रअ अनुप श्रेष्ठको भनाइमा सबैतिर निष्पक्ष भएर इमान्दारी र नैतिकतापूर्वक परीक्षण भएको छैन।

‘आफ्नो पालिकाभित्रका विद्यार्थीलाई किन फेल गर्ने? सकेसम्म बढी पास गर्नुपर्छ भन्ने पनि छ। कतिको त रेकर्ड नै तोडिने गरी नतिजा आएको छ,’ प्रअ श्रेष्ठ भन्छन्, ‘एउटै वडा वा एउटै पालिकाका अर्को स्कुलले राम्रो गर्दा आफ्नो प्रतिष्ठा घट्छ भन्ने पनि छ। त्यसैले प्रतिस्पर्धी स्कुलको विद्यार्थीको नम्बर घटाइदियो भने हामी अलि माथि जान्छौँ भन्ने पनि भएको छ।’

भगवती माविका सबै (५२ जना) विद्यार्थी ग्रेडेड भएका छन्। आधारभूत तह, कक्षा १० र १२ मा निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको यो विद्यालय शंखरापुर नगरपालिकाको उत्कृष्ट विद्यालय मानिन्छ।  

प्रअ श्रेष्ठले परीक्षाको मर्यादा, विश्वसनीयता र गोपनीयतामा पनि प्रश्न उठाएका छन्। 

‘हाम्रो विद्यालयका शिक्षक कापी परीक्षणका लागि अरू परीक्षा केन्द्रमा जानुभएको थियो। एउटा परीक्षा केन्द्रमा केन्द्राध्यक्षले सुपरभिजनका लागि खटाएको एक दरबन्दीका शिक्षक विद्यालय समय बाहेकको समयमा दुई निजी विद्यालयमा पनि पढाउनुहुँदोरहेछ। त्यो केन्द्रमा उहाँले पढाउने निजी विद्यालयका विद्यार्थी पनि रहेछन्। कापी जाँच्ने शिक्षकलाई यति नम्बरभन्दा कम नदिनू भन्नुहुँदो रहेछ,’ श्रेष्ठले भने।

कति ठाउँमा शिक्षक त्रासमा रहेको पनि पाइएको छ। विकट हिमाली जिल्लाका एक शिक्षक भन्छन्, ‘जिल्लामा तीनवटा सामुदायिक विद्यालय छन्। परीक्षा केन्द्रमा तीनवटै विद्यालयका ३४ जना विद्यार्थी थिए। नम्बर कम दिँदा शिक्षकलाई सुरक्षाका हिसाबले त्रास हुन्छ। यस्तो परिवेशमा अन्तरजिल्ला केन्द्र तोकिनु पर्छ।’

परीक्षा केन्द्रमा कहाँका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण हुँदैछ भनेर थाहा हुने र कोडिङ पनि नहुने हुँदा उत्तरपुस्तिका परीक्षणमा आग्रह, पूर्वाग्रह र दबाब हुनसक्ने सम्भावना रहेको शिक्षकहरू स्वीकार्छन्। 

‘अब पालिका अदलीबदली गरेर परीक्षा केन्द्र तोक्नुपर्छ। मेरो पालिकाको विद्यालयको कापी मैले जाँच्न नपाउने हुनु पर्छ। यसो गर्‍यो भने अझ निष्पक्षता हुन्छ,’ प्रअ अनुप श्रेष्ठले भने।

शिक्षक तारकेश्वरी श्रेष्ठको धारणा पनि अहिलेको अभ्यासमा परिवर्तन हुनु पर्छ भन्ने छ। उनी भन्छिन्, ‘हाम्रोमा सात वटा विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण भयो। अब आउने वर्षदेखि क्रस सेन्टरको व्यवस्था हुनुपर्छ र कोडिङको व्यवस्था पनि गरिनुपर्छ।’

एसईई नतिजाले सिकाइमा सुधार भएको देखाउँछ? कसको कापी परीक्षण हुँदैछ भनेर थाहा हुने गरी किन केन्द्र तोकिनु हुँदैन? यो वर्ष विषयगत शिक्षकले मात्रै कापी जाँचे कि अरूले पनि? भगवती मावि, काठमाडौँका प्रधानाध्यापक अनुप श्रेष्ठ र लिटिल एन्जल्स स्कुल, ललितपुरकी शिक्षक तारकेश्वरी श्रेष्ठसँग नेपालखबरले गरेको कुराकानी (भिडिओ)–

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad