ad ad

समाज


नेपालमा शक्तिशाली अम्पुन आँधीको प्रभाव सुरु, काठमाडौंमा बिहानै भयो वर्षा

नेपालमा शक्तिशाली अम्पुन आँधीको प्रभाव सुरु, काठमाडौंमा बिहानै भयो वर्षा

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १:९,

बंगालको खाडीमा विकसित शक्तिशाली आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा पर्न सुरु भएको छ।

यसैको अप्रत्यक्ष प्रभावले आज (मंगलबार) बिहानै काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘यो अप्रत्यक्ष प्रभाव मात्रै हो,’ मंगलबार बिहान मौसमविद् नगरकोटीले भनिन्, ‘अब यो बिस्तारै बढ्दै जाने देखिन्छ।’

उनका अनुसार त्यस शक्तिशाली चक्रवातको बाहिरी घेराको बादल मात्र अहिले नेपाल आइरहेको छ।

‘अहिले त्यो चक्रवात बंगालको खाडीमै छ, जमिनमा प्रवेश गरिसकेको छैन,’ उनले भनिन्, ‘यो भारतको जमिनमा प्रवेश गरेपछि यसको असर ठूलो हुनेछ र नेपालमा पनि बढी प्रभाव पर्नेछ।’

उनका अनुसार अहिले त्यस शक्तिशाली चक्रवातको बाहिरी घेराको बादल काठमाडौंलगायत देशको मध्य भागमा मात्रै आइपुगेको छ। सोही कारण आज बिहानै काठमाडौंलगायत आसापासका क्षेत्रमा वर्षा भएको हो।

‘अहिले वर्षा रोकिएको भए पनि पुनः बदली भई वर्षा हुने सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘आजलाई अम्पुनको प्रभाव देशका मध्य र पूर्वी भूभागका थोरै स्थानमा पर्ने देखिन्छ।’

त्यसको प्रभावले आज देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

‘यसको प्रभाव बिस्तारै आजभन्दा भोलि बढ्दै जान्छ,’ उनले भनिन्, ‘यसले वर्षा तथा हिमपातसमेत गराउनेछ।’

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै विशेष बुलेटिन जारी गरेर बंगालको खाडीमा अम्पुन नामको अति शक्तिशाली चक्रवात विकास भइसकेको र त्यो क्रमशः उत्तरतर्फ अघि बढ्दै गरेकाले नेपालमा पनि वर्षा तथा हिमपात हुने सम्भावना रहेको भन्दै होसियारी अपाउन आग्रह गरिसकेको छ।

चक्रवातको पूरै प्रणाली नेपाल नभित्रिने, त्यसको असर मात्रै नेपाल भित्रिने मौसमविद्को भनाइ छ। तैपनि त्यसले देशभर मौसब बदली गराई मध्यमसम्म वर्षा तथा भारीसम्म हिमपात गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसले नेपालमा खासगरी बिहीबारदेखि दुई–तीन दिनसम्म बढी प्रभाव पार्ने मौसमविद्को अनुमान छ।

याे पनि: 

भारतमा अति शक्तिशाली अम्पुन आँधीको सन्त्रास, १० लाख मानिस सार्ने तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .