कोरोना संक्रमणबाट सुत्केरी महिलाको मृत्यु भएपछि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेका बासिन्दा आत्तिएका छन्।
बिहीबार राति ज्यान गुमाएकी ती महिलाको मृत्यु कारण कोरोना भाइरस भएको शनिबार पुष्टि भएसँगै उनको घरवरिपरिका मानिसहरुमा ठूलो त्रास देखिएको स्थानीय जनप्रतिनिधिले जानकारी दिए।
अहिले गाउँमा सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ। शनिबार दिउँसैबाट दुई वटा गाउँलाई सिल गरिएको छ।
९ दिनकी सुत्केरी ती महिलाको मृत्युपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको नमुना संकलन आइतबारबाट थालिएको छ।
विज्ञ डाक्टर, नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा, उपप्रमुख सशीला पाख्रिन सहितको टोलीले ५६ जनाको स्वाब संकलन गरेर आइतबार नै धुलिखेल अस्पताल पठाएको छ।
‘दिनभर लगाएर स्वाब संकलन गरेका छौं, हामीसँग गएका डाक्टरहरुले स्थानीयलाई त्रसित नबन्न र सचेत हुन आग्रह गर्नुभयो,’ बाह्रबिसे नगरपालिकाका प्रमुख शेर्पाले नेपालखबरसँग भने, ‘मृतक महिलाको वरिपरिका मानिसहरु डराएका छन्।’
अब ती महिलाको सम्पर्कमा पुगेका अन्य व्यक्तिहरुको सोमबार बिहान स्वाब संकलन गर्ने तयारी छ।
सुत्केरी भएको दुईदिनमा गाउँ पुगेकी मृतक महिला नगरपालिकाको २ नम्बर वडासम्म एम्बुलेन्समा गएको स्थानीयलाई उधृत गर्दै नगरप्रमुख शेर्पाले बताए।
‘एम्बुलेन्सबाट ओर्लेर निजी बोलेरोमा चढेको र मरौ परेको एउटा घरमा पसेको जानकारी आएको छ,’ शेर्पाले बताए, ‘त्यसपछि मलामी गएका मानसहरुसँग पनि भेट गरेको स्थानीयले बताएका छन्। सोमबार पूरै गाउँका सबैको एक एक गरेर पीसीआर परीक्षण गर्नुपर्ने देखिएको छ।’
मृतक महिलामा सुत्केरी भएर गाउँ पुगेपछि श्वासप्रश्वासमा समस्या आएको थियो। स्थानीय स्वास्थ्य चौकीपछि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो। जहाँ उनको मृत्यु भएको थियो।

प्रतिक्रिया