समाज


संक्रमण चरम विन्दुमा पुग्दा यस्तो छ सेनाको आकलन र तयारी

संक्रमण चरम विन्दुमा पुग्दा यस्तो छ सेनाको आकलन र तयारी

उजिर कार्की
जेठ ४, २०७७ आइतबार १६:३७,

नेपाली सेनाले अबको एक महिनामा नेपालमा कोरोना संक्रमण चरम विन्दुमा पुग्ने आकलन गरेको छ।

दैनिक संक्रमित बढिरहेको अवस्थामा सेनाले गरेको अध्ययनअनुसार अबको एक महिनामा संक्रमितको संख्या २ हजारनजिक पुग्ने देखिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

संक्रमण जुन १५ अर्थात् एक महिनापछि चरम विन्दुमा पुग्दा ५८ देखि ९३ जनाको ज्यान जानसक्ने सेनाको अनुमान छ।

दुई छिमेकी देशको अवस्थासँग तुलना गरेर सेनाले सो अध्ययन गरेको हो।

‘अहिले त सुरुवात मात्रै हो। अब दिनदिनै संक्रमण बढ्दै जान्छ,’ प्रवक्ता पाण्डेले भने, ‘हामी चीनको गतिमा अगाडि बढ्यौं भने जुन १५ सम्ममा १ हजार ६ सय ७२ जना संक्रमित हुन्छन्। त्यतिबेलासम्म ९३ जनाको मृत्यु भइसक्छ। भारतको हिसाबले अगाडि बढ्यो भने १ हजार ८ सय १० जना संक्रमित हुन्छन् र ५८ जनाको मृत्यु हुन्छ।’

army covid19

कोरोनाका कारण उत्पन्न हुने भयावह स्थिति सामना गर्न सेनाले तयारी पनि बढाइरहेको छ। अहिलेसम्म सरकारले सेना परिचालन गर्ने निर्णय गरेको छैन। तर, सेनाले अहिले दैनिक ८ सयदेखि ९ सय पेट्रोलिङ गरिरहेको पाण्डेले बताए।

त्यस्तै, संक्रमितको उपचारमा सेनाका ७ सय ५० स्वास्थ्यकर्मी खटिएका छन्। बढी जोखिम देखिएका क्षेत्रमा लकडाउन कार्यन्वयनमा समेत सेना अगाडि सारिएको छ। राजधानीमा समेत सेनाले गस्ती बढाएको छ।

स्वास्थ्य सामग्री ढुवानीको जिम्मेवारी समेत सरकारले सेनालाई नै दिएको छ। विदेशबाट ल्याउनेदेखि देशभित्र विभिन्न ठाउँमा ती स्वास्थ्य सामग्री पु¥याउने काम सेनाले नै गरिरहेको छ।

armytent

अहिलेसम्म सेनाका दुई जनामा संक्रण देखिएको छ। त्यसपछि भने सेनाले फौजलाई सुरक्षित राख्ने थप निर्देशन जारी गरेको छ।

‘भोलि हामीलाई ठूलो जिम्मेवारी आउन सक्छ, अहिले नै संक्रमित भयौं भने त्यतिबेला कसरी सामना गर्न सकिन्छ?’ प्रवक्ता पाण्डेले भने, ‘अहिले आफू सुरक्षित रहँदै भोलिको लागि तयारी गरिरहेका छौं। भोलि लौ सेना आउनुप¥यो भन्दा हामीसँग जनशक्ति नै छैन भन्नु पर्ने अवस्था नआओस् भनेर सामान्य अवस्थामा सेनालाई नखटाउने तयारी भएको छ।’

सेनाले विदेशबाट नेपाली नागरिक देश फर्किएका अवस्थामा के गर्ने भन्ने योजना पनि तयार गरिरहेको छ। केही देशले नेपाललाई आफ्ना नागरिक फिर्ता ल्याइदिने जानकारी गराइसकेका छन्। कुवेतबाट ३ हजार ५ सय जना फर्किने तयारीमा छन्। साउदी अरब, मलेसिया र यूएईले पनि अवैध रुपमा बसेका प्रवासी नागरिक फर्काउने योजना बनाइसकेका छन्।

यो अवधिको जरिवाना मिनाहा गरेर सम्बन्धित देशसम्मै पु¥याइदिने सर्तमा आफ्ना नागरिक फिर्ता लैजाने प्रक्रिया थाल्न ती देशले सूचना दिइसकेका छन्।

‘विदेशबाट मान्छे आए उनीहरुलाई कसरी राख्ने? देशभित्र कोरोनासँगै अरु पनि समस्या थपिने छन्। ती कुराको सामना गर्न हामी अहिले रिपोर्ट संकलन गर्ने र योजना बनाउने काममा केन्द्रित छौं,’ सहायक रथी पाण्डेले भने, ‘अब हामीसँग धेरै समय छैन।’

सेनाले फौजमा संक्रमण फैलिन नदिन अहिले सबै ब्यारेक लकडाउन गरेको छ। बाहिरबाट अन्यलाई आउन दिइएको छैन। बिदामा जाने र संक्रमित क्षेत्रमा खटिने सेनालाई पनि क्वारेन्टिनमा राख्ने र स्वास्थ्य परीक्षणपछि मात्रै ब्यारेक प्रवेश दिने गरिएको छ।

सरकारले घोषित रुपमा जिम्मा दिएपछि कोरोनासँग लड्न जनशक्ति तयार गरिरहेको जंगी अड्डाले जनाएको छ। प्रवक्ता पाण्डेका अनुसार १५ हजार बढी सैनिक उपचारमा खटिन तयार छन्। उनीहरुलाई कोरोना संक्रमितको उपचारमा अपनाउनु पर्ने विधि र आफ्नो सुरक्षाका बारेमा तालिम दिइसकिएको छ।

जंगी अड्डाबाट सुरु भएको तालिम पृतना र गणसम्म पुगेको छ। अहिले सेनाको हरेक ब्यारेकमा यी काम गर्ने जनशक्ति तयार छन्। आजको दिनमा कोरोना संक्रमणमा काम गर्ने १५ हजार बढी जनशक्ति तयार रहेको प्रवक्ता पाण्डेले बताए।

सेनासँग ३० बेड आईसीयू र एक सय बेड आइसोलेसन तयार छ। कार्ययोजना तयार गर्न सेनाले कार्यदल नै गठन गरेको थियो। सो कार्यदलले तयार पारेको तत्काल गर्नुपर्ने र जोखिम थपिंदै जाँदा गर्नु पर्ने कामको योजना अनुसार नै सेनाले तयारी गरेको हो।

army tent2

सबै सैन्य अस्पताल तथा फिल्ड एम्बुलेन्स, गुल्म र पृतना जीओपीडीहरुमा इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ।

आफ्नो क्षेत्रमा हुन सक्ने खतराअनुसार हरेक गुल्म र पृतनाले पनि योजना तयार गरेका छन्।

आवश्यकता अनुसार खाली ठाउँमा मोबाइल फिल्ड अस्पताल राखेर पनि संक्रमितको उपचार गर्न सकिनेगरी तयारी सेनाले अध्ययन गरिसकेको छ।

त्यसका लागि सेनाले खुल्ला ठाउँ हेरेर सरकारलाई सिफारिस गरेको छ। खुला ठाउँमा क्वारेन्टिन बनाउन सेनाले त्रिपाल प्रयोग गर्ने भएको छ।

सरकारले गत चैत १६ गते सेनालाइई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो। उसले स्थलमार्गबाट पहिलो लट सामग्री काठमाडौं ल्याइसकेको छ।

स्थलमार्गबाट ल्याइँदै गरेको बाँकी सामग्री तातोपानी नाकामा आइसकेका छन्। ती सामग्री सोमबार र मंगलबारमा काठमाडौं आइसक्ने छन्। हवाई मार्गबाट आउने स्वास्थ्य सामग्रकिा लागि गोन्जाओ विमानस्थलमा भन्सारको प्रक्रियामा छन्। भन्सार प्रक्रिया पूरा हुनासाथ नेपाल एयरलाइन्सको वाइडबडी पठाउने तयारी गरिएको पाण्डेले जानकारी दिए।

याे पनि: 
पृतनापति र चिकित्सकमा कोरोना पुष्टिपछि नेपाली सेनाको मध्यपूर्वी पृतना सिल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad