छापा खबर


श्रीमतीलाई अस्पतालमा राखेर ब्लड बैंक हिँडेका वृद्धलाई सेनाले कालिमाटीको सडकमा यसरी नांगै बनायो

श्रीमतीलाई अस्पतालमा राखेर ब्लड बैंक हिँडेका वृद्धलाई सेनाले कालिमाटीको सडकमा यसरी नांगै  बनायो

नेपालखबर
जेठ ५, २०७७ सोमबार ०:३,

आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा ।

लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ।

राष्ट्रिय सुरक्षा हेर्ने जिम्मा सेनाको हो, शान्तिसुरक्षा हेर्ने जिम्मेवारी नेपाल प्रहरीको हो । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अर्धसैनिक र सैनिक फौज परेड खेलिरहेको छ ।

तर, सरकारले भर्खरै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी पोस्ट स्थापना गरेको छ । सिमानामा सशस्त्र प्रहरी पठाएर काठमाडौंको सडकमा सेना किन निस्किएको होला? घनश्यामजस्ता धेरै नेपाली आश्चर्यमा परेका छन् ।

तर, देशको प्रचलित कानुन, अभ्यास र नागरिकको सरोकारलाई मतलब नगरी लकडाउन सफल पार्न सैनिक सडकमा उतारिएको खबर आजको नयाँ पत्रिका दैनिकमा विनोद विष्टले लेखेका छन्।

राजधानीका अन्य चोकमा जस्तै कालिमाटीमा पनि कलम र रजिस्टर समातेका सैनिक सडकमा गुडिरहेका सवारीसाधनको सूची बनाइरहेका छन् ।

१२ वर्षे छोरालाई पछि लगाएर हस्याङफस्याङ गर्दै दौडिरहेका घनश्यामलाई कालिमाटी चोकमा उभिएका सैनिकले रोके । उनलाई डोर्‍याउँदै कालिमाटी तरकारी तथा फलफूल बजारसँगैको फुटपाथमा लगे ।

अनि उनले लगाएको पोसाकको विषयमा केरकार सुरु भयो । घनश्यामले सैनिकको जस्तो देखिने हाफसर्ट लगाएका थिए । पाइन्ट सामान्य रंगको थियो । उनी सैनिकजस्तो देखिने गरी हिँडेका पनि थिएनन् । तर, सेनालाई ‘हाफसर्ट’ आपत्तिजनक लाग्यो । उनले सर्ट तत्कालै उतार्न आदेश दिए।

घनश्यामले श्रीमती वीर अस्पतालमा भएको र आफू उनका लागि रगत लिन सोल्टीमोडस्थित ब्लडबैंक जान लागेको भन्दै ‘माफ’ गरिदिन ‘याचना’ गरे । उनले अस्पतालले ब्लडबैंकलाई लेखेको पत्र पनि देखाए।

तर, सैनिकले सुनेनन् । घनश्यामले लगाएको कमिज नागरिकले लगाउन नमिल्ने भन्दै उनीहरूले तुरुन्तै खोलेर बाटो लाग्न आदेश दिए । कानुन कार्यान्वयन गर्न सेनाले नागरिकलाई सडकको कुनामा लगेर केरकार गरिरहेको वेला नेपाल प्रहरीका अधिकारी भने टाढै बसेर टुलुटुलु हेरिरहेका थिए।

यो सब के भइरहेको छ भन्ने नबुझेका घनश्यामले निन्याउरो स्वरमा भने, ‘सर, म ब्लडबैंकबाट रगत लिएर अस्पताल पुर्‍याउँछु, अनि यो ‘सर्ट’ फुकालेर फाल्छु है ।’ तर बन्दुकधारी सैनिक गर्जिए, ‘खुरुक्क सर्ट फुकाल।’

अब घनश्याम निरूपाय भए । उनले सर्ट खोलेर भुइँमा थपक्क राखे । अनि, हिँड्न खोजे । नागरिकको इज्जत सडकमै उतारेपछि सैनिक महोदयको चित्त बुझेन । उनले फेरि हकारे, ‘कहाँ हिँड्न खोजेको? यो लुगा ऊ त्याँ परे डस्टबिनमा हाल्ने।’

घनश्यामले सर्ट फेरि उठाए, डस्टबिनतर्फ अघि बढे । तर, सर्ट लिएर घनश्याम फरार होलान् जस्तो गरी सैनिकले पहरा दिइरहेका थिए । अलिक पर फोहोर फाल्ने टोकरी थियो । सैनिकले बन्दकुको नालले देखाएपछि घनश्यामले आफ्नो लुगा डस्टबिनमा फाले।

बीचसडकमा ६७ वर्षीय घनश्याममाथि भएको यो दुर्व्यवहारको साक्षी बनिरहेका थिए उनका १२ वर्षीय छोरा । वृद्ध बाबुलाई बाटोमा साथ दिन आएका थिए बालक छोरा । तर, अनायसै यस्तो आपत आइपुग्ला भन्ने अनुमान थिएन ।

सडकमा सैनिक ज्यादती अवलोकन गरिरहेको मलाई सैनिकले के हो, किन फोटो खिचेको भनेर हप्काउने कोसिस पनि गरे । पत्रकार हुँ भनेर जवाफ दिएपछि उनले परिचयपत्र मागे । सूचना विभागको परिचयपत्र देखाएपछि नम्बर पनि नोट गरे ।

सडकमा उत्रिएर सैनिकले पत्रकारको परिचयपत्र जाँच गरेको राजा ज्ञानेन्द्रको निरंकुश शासनमा हो । तर, यो लोकतान्त्रिक गणतन्त्रमा शाहीकालको पुनरावृत्ति भयो।

उता, घनश्यामलाई ब्लडबैंक जाने हतार थियो, सेन्डो लगाएका बाबुलाई छोराले पछ्याए । बाबुछोरालाई मैले पछ्याएँ । वेलावेलामा सुस्त हिँड्ने छोरालाई अत्याउँदै उनी रेडक्रसको ब्लडबैंक पुगे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad