पोखराको लेकसाइडमा फेवा नयाँ वर्ष महोत्सवको अवसर पारेर पर्यटन दौड प्रतियोगिता आयोजना गरिएको छ।
नयाँ वर्ष २०८१ को स्वागतार्थ आयोजित दौडमा स्थानीय बासिन्दा, पर्यटक र खेलाडी गरी ३५ जनाले प्रतिस्पर्धा गरेका छन्। दौडको मुख्य उद्देश्य पोखराको पर्यटन प्रवर्द्धन र स्वास्थ्य सचेतना फैलाउनु रहेको जनाइएको छ।
खहरेबाट अम्बोटसम्म भएको दौडमा विभिन्न २८ देशका पर्यटकले भाग लिएको पर्यटन दौड संयोजक प्रतिक पहारीले जानकारी दिए। नयाँ वर्षको अवसरमा विदेशी पाहुनालाई नेपाली संस्कृतिसँग परिचित गराउने र उनीहरूलाई अपनत्व महसूस गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको पहारीले बताए।
२१औँ फेवा नयाँ वर्ष महोत्सव (स्ट्रिट फेस्टिभल) को अवसरमा आयोजित कार्यक्रमले पोखराको पर्यटन क्षेत्रमा ऊर्जा थपेको छ। संयोजक पहारीका अनुसार हाल पोखराका होटलमा ९० देखि ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको छ, जसले व्यवसायीमा उत्साह जगाएको छ।
केही समयअघिको राजनीतिक आन्दोलन र अस्थिरताका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः लयमा फर्किन थालेको नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका संयोजक मोडी लामिछानेले बताए। नेपाल पर्यटन बोर्ड र स्थानीय पर्यटकीय संघसंस्थाको सक्रियतामा सञ्चालित ‘टुरिजम रिभाइभल’ (पर्यटन पुनरुत्थान) कार्यक्रमले पोखरामा पर्यटकको चहलपहल बढाएको लामिछानेको भनाइ छ।
उनकाअनुसार जेनजी आन्दोलनका कारण करिब डेढ महिना सुस्ताएको आन्तरिक तथा वाह्य पर्यटन अहिले सुधारोन्मुख छ। पर्यटन बोर्डले होटल संघसँग मिलेर पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्नुका साथै अन्य सम्भावित स्रोत बजारमा ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गरिरहेको छ।
पछिल्लो समय मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालको पर्यटनमा केही नकारात्मक प्रभाव देखिएको छ। विशेष गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उनले जानकारी दिए। यद्यपि, पश्चिमा पर्यटक घटे पनि छिमेकी मुलुक भारत र दक्षिण–पूर्वी एशियाली मुलुकहरूबाट आउने पर्यटकको संख्यामा १५ देखि २० प्रतिशतले वृद्धि भएको छ।
Shares

प्रतिक्रिया