चार दिनभित्र चार कोरोना संक्रमित फेला परेपछि आज (शनिबार) देखि चार दिन अर्थात् मंगलबारसम्मका लागि ‘सिल’ गरिएकाे काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख (मेयर) घनश्याम गिरीले काठमाडौंकाे स्थिति भयावह देखिएको बताएका छन्।
शनिबार दिउँसो नेपालखबरसँग कुरा गर्दै मेयर गिरीले आफ्नो नगरपालिकाले जस्तै काठमाडौंका सबै नगरपालिका कार्यालयले बाहिरबाट आएका व्यक्तिको निगरानी तथा नमुना परीक्षण गर्ने हो भने धेरै संख्यामा कोरोना संक्रमित फेला पर्ने सम्भावना रहेको बताएका हुन्।
‘अहिले धेरैलाई लागिरहेको छ- हाम्रो (चन्द्रागिरि) नगरपालिकामा मात्रै धेरै (४ जना) संक्रमित फेला परे’ मेयर गिरीले भने, ‘कुरा त्यस्तो होइन, हाम्रोमा संक्रमित अरू नगरपालिकामा भन्दा धेरै फेला परेका होइनन् कि हामीले निगरानी, सतर्कता र परीक्षणलाई तीव्र पारेकाले सुरुमै पत्ता लगाउन सफल भएका हौं।’
काठमाडौंका अन्य नगरपालिकाले पनि आफूहरूले जस्तै बाहिरबाट आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षणलाई तीव्र पार्ने हो भने यहाँभन्दा धेरै संख्यामा संक्रमित फेला पर्ने उनको अनुमान छ।
‘यो लकडाउनका बीच हाम्रो नगरपालिकामा मात्रै १५ सयजति मानिस बाहिरबाट भित्रिएको अनुमान गरेका छौं,’ मेयर गिरीले भने, ‘त्यसैकारण आजबाट नगरपालिका सिल गरेर तिनको सूची तयार पार्दै परीक्षण गर्ने योजना बनाएका हाैँ।’
उनका अनुसार त्यसरी बाहिरी जिल्लाबाट भित्रिएका र स्थानीयबीच सम्पर्क भई संक्रमण झन् व्यापक बन्ने देखिएकाले आजदेखि जेठ ७ गतेसम्मका लागि कसैलाई पनि घरबाट निस्कन नपाउने गरी सिल गरिएको हाे।
‘हामीले यहाँका बासिन्दालाई तीन समूहमा विभाजन गरेका छौं,’ उनले भने, ‘पहिलो नम्बरको अति जोखिम समूहलाई प्राथमिकतामा राख्दै पीसीआर परीक्षणका लागि नमुना संकलन गर्दै प्रयोगशालमा पठाइरहेका छौं।’
उनका अनुसार चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा छन्। ‘हिजो मेरो सबै वडाध्यक्षसँग कुरा भएको थियो, सबैले आफ्ना वडामा कम्तीमा ८० देखि सय जनासम्म बाहिरबाट मानिस आएको जानकारी दिएका छन्,’ उनले भने, ‘यसरी हेर्दा कम्तीमा १५ सय मानिस हाम्रो नगरपालिकमा भित्रिएको देखिन्छ।’
कोरोना नियन्त्रणमा चन्द्रागिरिका जनप्रतिनिधि व्यापक रूपमा खटिरहेको उनले जानकारी दिए।
याे पनि:
काठमाडौंमा नयाँ संक्रमितको संख्या ७ पुग्यो, टेकु अस्पतालमा मात्रै छन् अरू १२ शंकास्पद

प्रतिक्रिया