गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा रतुवा मृगको शिकार गरेको आरोपमा सात जना पक्राउ परेका छन्।
मृग शिकार गर्ने स्थानीय मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार बस्दै आएका इन्द्रजित ओली पक्राउ परेका डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।
पौड्यालका अनुसार जंगलबाट मृग मारेर घरमा ल्याएर मासु काटेर भागभण्डा गरिरहेको अवस्थामा स्थानीयवासी खुमबहादुर माझीलाई गत आइतबार मासुसहित प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यलाई बुझाएको थियो। अन्य भागेका थिए।
घटनामा संलग्नहरुको खोजी गर्दै जाँदा उनीहरु सबै पक्राउ परेको प्रमुख पौड्यालले बताए। पक्राउ परेका सबै मृगको शिकार गर्न सहभागी भएका उनको भनाई छ।
पक्राउ परेकाहरु माथि वन ऐन अनुसारको वन्यजन्तु अवैध शिकार गरेको कसुरमा मुद्दा दर्ता गर्ने गरी अनुसन्धान अघि बढाइने उनले बताए। घटनास्थलबाट बरामद गरिएको मृगको मासु भने स्थानीय जनप्रतिनिधिको रहोवरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ।
Shares

प्रतिक्रिया