समाज


हेटौँडामा बनाइँदै महिलामैत्री पार्क, एकै ठाउँमा बन्नेछ स्तनपान कक्षदेखि समावेशी संरचना

हेटौँडामा बनाइँदै महिलामैत्री पार्क, एकै ठाउँमा बन्नेछ स्तनपान कक्षदेखि समावेशी संरचना

सुनिता विष्ट
चैत २६, २०८२ बिहिबार ७:४८, काठमाडौँ

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले महिलाहरूलाई प्राथकिमतामा राखेर महिलामैत्री पार्क निर्माण कार्यको थालनी गरेको छ। 

हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाले महिलामैत्री पार्क निर्माणको पहल थालेकी हुन्।

उपमहानगरपालिकाको स्वामित्वमा रहेको ११ कठ्ठा जग्गामा पार्क निर्माण गर्न शिल्यानास समेत भैसकेको छ। हेटौंडा–८ कमानेको पुरानो पार्कलाई अब व्यवस्थित, महिलाका लागि मनोरञ्जनात्मक र सुरक्षित पार्क निर्माण गरिन लागेको नगरप्रमुख लामा बताउँछिन्। 

उनका अनुसार २०८३ असोजसम्ममा निर्माण सक्नेगरी पार्क निर्माणका लागि ३ करोड ५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय ९युएनओपीएस० को ७० प्रतिशत लगानीमा पार्क निर्माण हुँदैछ । महिलामैत्री पार्कमा महिलाहरुका लागि विश्राम, मनोरञ्जन तथा सामुदायिक गतिविधि केन्द्रका रुपमा विकास हुने विश्वास लिइएको नगरप्रमुख लामा बताउँछिन्।

‘महिलाको लागि उद्यम क्षेत्रमा धेरै सहयोग गरिँदै आइएको छ। हेटौंडाका महिलाहरुले उत्पादन गरेको समाग्रीहरु देश विदेश पुगिरहेको अवस्था छ, तर महिलाहरुले चाहिँ सधैँ काम मात्रै गरेर बस्दा आफ्नो लागि समय छुट्याउन पाउँदैनन्, नगरप्रमुख लामाले भनिन्, ‘कुनैबेला फ्रेस हुन मन लाग्यो भने एकैछिन पार्कमा पुगेर हावा खाने, त्यहाँका संरचनाहरु अवलोकन गर्ने गर्न पाउँछन् भन्ने हो। पार्कमा बालबालिकाका लागि खेल्ने स्थान, अपांगता भएकाहरुको लागि अपांगमैत्री स्थल, महिलाको लागि स्तनपान कक्ष देखि फूटसल, खुल्ला जिम राखिनेछ।’

उनका अनुसार यस्तो पार्क हेटौंडाको हुप्राचौरमा पनि निर्माण गर्ने प्रक्रिया अघि बढेको छ। यसबाहेक हेटौंडाकै अन्य केही वडाहरुमा समेत निर्माण गर्नका लागि तयारी भैरहेको बताइएको छ। उपमहानगरपालिकासँगको सहकार्यमा पार्क निर्माण सुरु गरेको युएनओपीएसकी सम्पदा थापामगरको अनुसार पार्क भन्ने बित्तिकै पुरुषकै संख्या बढी देखिने भएकोले पार्कको नाम नै महिलामैत्री राखिएको हो। 

‘महिला मैत्री पार्कमा पुरुष जान नपाउने भन्ने होइन, सबैको लागि सबै पूर्वाधार निर्माण गरिनेछ, थापामगरले भनिन्, ‘पार्कमा विशेषगरी महिलालाई प्राथमिकतामा राखिने मात्रै हो। बालबालिकाको लागि छुट्टै स्पेस हुन्छ। बालबालिकालाई खेल्न छोडेर अविभावकहरु पार्कको अवलोकनमा निस्कन सक्नुहुन्छ। पार्कमा सांस्कृतिक पहिचान झल्कने वस्तुहरु पनि राखिन्छ। यसको नाम महिलामैत्री भए पनि समावेशी पार्क भनेर बुझ्न सकिनेगरी संरचनाहरु निर्माण गरिनेछ।’

पार्कमा बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका देखि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको लागि समेत प्राथमिकतामा राखेर संरचनाहरु निर्माण गरिने बताइएको छ। पार्कमा स्तनपान कक्ष समेत निर्माण गर्नेगरी डीपीआर तयार भएर निर्माण कार्य अघि बढेको हो।



 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad