इरानका विदेशमन्त्रीले अमेरिकालाई युद्धविराम चाहेको हो कि युद्ध नै भनी प्रश्न गरेका छन्।
इरान-अमेरकाबिच दुई हप्ताका लागि युद्धविराम गर्ने सहमतिपछि पनि इजरायलले बुधबार लेबननमा भीषण हवाई आक्रमण गरेपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई युद्धविराम र युद्धमा एउटा रोज्न भनेका हुन्।
अराघचीले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, ‘इरान-अमेरिका युद्धविरामको सर्त स्पष्ट छ- अमेरिकाले एउटा रोज्नुपर्छ-युद्धविराम र इजरायलका माध्यमबाट जारी युद्ध? दुवै एकैसाथ रहन सक्दैनन्।’
उनले थप लेखेका छन्, ‘लेबननमा भइरहेको नरसंहारलाई विश्वले हेरिरहेको छ। अब बल अमेरिकाको कोर्टमा छ; विश्वले हेरिरहेको छ- अमेरिकाले आफ्ना वाचा पूरा गर्छ कि गर्दैन?’
अमेरिका र इरानबिच मंगलबार राति मात्र २ साता युद्ध रोक्ने सहमति भएको थियो। तर त्यसको भोलिपल्टै इजरायलले लेबननका धेरै स्थानमा हवाई आक्रमण गरेको हो। जसमा परी २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ जना घाइते भएका छन्।
लेबननी नागरिक रक्षा टोलीका अनुसार बेरुत, बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरमा भीषण हमला गरिएको हो।
समाचार एजेन्सी एपीका अनुसार इजरायलले आक्रमण गरेपछि इरानले जलमार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ।

त्यसो त इजरायलले अमेरिका-इरान युद्धविराम सम्झौता हुनासाथ भनेको थियो- यो लेबननमा भने लागु हुने छैन।
तर अमेरिका-इरान सम्झौतामा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले युद्धविराम लेबननमा पनि लागु हुने बताएका थिए।
बुधबार ट्रम्पले पाकिस्तानको मध्यस्थतामा युद्धविराम सम्झौता भएको उल्लेख गर्दै यसका लागि इरानबाट दशबुँदे प्रस्ताव आएको बताएका थिए। जसमा युद्ध लेबननमा पनि रोकिनुपर्ने उल्लेख छ।
यी हुन् इरानले अमेरिकालाई पठाएका दश बुँदा
१. आक्रमण पूर्ण रूपमा अन्त्य
-अमेरिका र इजरायललाई सबै सैन्य आक्रमण बन्द गरिनुपर्ने माग गरिएको छ।
२. सबै प्रतिबन्ध हटाउने
-सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने माग गरिएको छ।
३. स्थिर सम्पत्ति फिर्ता गर्ने
-आफ्ना सबै फ्रिज फन्ड तथा सम्पत्ति फिर्ता गरिनुपर्ने
४. युद्धको स्थायी अन्त्य
-युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य गरिनुपर्ने माग
५. अमेरिकी सेना फिर्ता गर्ने
-इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने
६. क्षतिपूर्ति
-युद्धका क्रममा भएका क्षतिबापत आर्थिक मुआब्जा वा पुनर्निर्माणको व्यवस्था
७. होर्मुज स्ट्रेटमा नियन्त्रण
-होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण हुनुपर्ने
८. सुरक्षित आवतजावत तर सर्तसहित
-होर्मुज स्ट्रेटबाट जहाजहरूलाई आवतजावतका लागि अनुमति दिइने तर इरानी सेनासँग समन्वय गरेर।
९. जहाजलाई शुल्क
-इरानले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने प्रतिजहाज लगभग २० लाख डलर शुल्क लिने प्रस्ताव गरेको छ। जुन ओमानसँग सेयर गरिनेछ।
१०. क्षेत्रीय द्वन्द्वको पनि अन्त्य
-लेबननमा हेजबुल्लाहविरुद्ध आक्रमणसहित क्षेत्रीय आक्रमण पनि अन्त्य गरिनुपर्ने
Shares

प्रतिक्रिया