हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महााशखाका अनुसार यतिबेला (मंगलबार बिहान) हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो हिमाली र पहाडी भेगको आकाशमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्ने मौसम महाशाखाले जानकारी दिएको छ।
यस क्रममा दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।
यस्तै राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोसी प्रदेशका हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराईमा आंशिक बादल देखिनेछ।
यस क्रममा राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
काठमाडौँमा पनि वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँ उपत्यकामा दिउँसो वा साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको हो।
'अहिले बिहानचाहिँ काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ', उनले नेपालखबरसँग भने, 'तर दिउँसो बिस्तारै बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना छ।'
हिजो (सोमबार) पनि काठमाडौँ उपत्यकामा वर्षा भएको थियो।
Shares

प्रतिक्रिया