शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गरेकामध्ये ४९ जनाकाे रिपाेर्ट नेगेटिभ आएको छ।
सो अस्पतालमा उपचाररत् ६ वर्षीय बालिकामा बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ७८ जनाको कोरोना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब (नमूना) पठाइएको थियो।
तीमध्ये शुक्रबार ४९ जनाको रिपोर्ट आउँदा कसैमा पनि संक्रमण नदेखिएको अस्पतालको कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले नेपालखबरलाई बताए।
ती बालिकाकाे उपचार भइरहेको वार्डमा संलग्न डाक्टर, नर्स, ल्याबका कर्मचारी र सरसफाईकर्मी सहितको नमूना सुरुमा जाँच गरिएको हो।
डा. दासका अनुसार दोश्रो लटमा सो वार्डका बिरामी, बिरामीका आफन्त तथा कुरुवा लगायत सम्पर्कमा हुनसक्ने व्यक्तिहरुको नमूना पठाइएको छ।
उनीहरुको रिपोर्ट आउन बाकी छ।
यसैबीच, पुलचोकस्थित निदान अस्पतालसँगै रहेको आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत् एक नर्समा कोरोना पुष्टि भएपछि उनले प्रयोग गरेको एम्बुलेन्सका ड्राइभर र सहयोगीको परीक्षण गरेकोमा उनीहरुमा संक्रमण देखिएन।
उनीहरु दुवैजनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए।
सो एम्बुलेन्स प्रयोग गर्ने अन्य ३२ जनालाई अहिले क्वारेन्टिनमा राखिएको छ।
याे पनि:
शिक्षण अस्पतालका ३८ जना क्वारेन्टिनमा, १३ डाक्टर घरमै बस्ने
Shares

प्रतिक्रिया