समाज


छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित बढेपछि पाल्पा सिल

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित बढेपछि पाल्पा सिल

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १३:५३,

छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएपछि पाल्पा जिल्लालाई बन्द गरिने भएको छ।

कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले शनिबार बिहान ५ देखि जेठ ५ गते सोमबार राति १२ बजेसम्म जिल्ला बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले जानकारी दिए।

औषधि, एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक वस्तुको गाडीबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्ने र उद्योगव्यवसायसमेत सञ्चालन नगर्ने निर्णय बैठकले गरेको छ।

आइशोलेशन वार्ड बनाइने
जिल्लामा कोरोनाको संक्रमणका बिरामीका लागि १२० शय्याको आइसोलेशन कक्ष तयार गरिने भएको छ। कोरोना रोकथामका लागि सम्बन्धित पालिकाको सहयोगमा रामपुर र तानसेन नगरपालिकामा पचासपचास, रम्भा र रिब्दिकोट गाउँपालिकामा १०/१० शय्याको आइसोलेशन कक्ष तयार गर्ने निर्णय भएको छ। यसअघि तानसेनको पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा गरी ६२ शय्याको आइसोलेशन कक्ष तयार पारिएको छ।

यस्तै कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि रामपुर नगरपालिकासँग जोडिएका विभिन्न पालिकाका सीमानाकामा कडा गर्न ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। अन्तरपालिका तथा गण्डकी प्रदेशसँग जोडिएका ३२ सीमानाकामा सुरक्षा व्यवस्था मजबुत बनाउन ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए।

यसैबीच कोभिड–१९ बाट मुक्तिको कामना गर्दै स्याङ्जा, पाल्पा र तनहुँको संगमस्थल केलादीघाट धाममा ज्येष्ठ नागरिकले भजनमार्फत भगवान्को प्रार्थना गर्न थालेका छन्। प्रत्येक दिन बिहान, दिउँसो र साँझ सामाजिक दूरी कायम गरी ज्येष्ठ नागरिकले कोरोना भगाउन भजनकीर्तन गर्दै आत्मशान्तिको कामना गरिरहेका छन्।

कोरोना भाइरस संक्रमणले महामारीको रुप लिँदै गएपछि यहाँ कोरोनाको कहर भगाउन भजनकीर्तन गर्दै भगवान्सँग प्रार्थना गर्ने गरिएको ७७ वर्षीय कृष्णदासी पौडेलले बताए।

मन्दिरमा हुने धार्मिक गतिविधि र पूजापाठ सबै स्थगन गरिएको मन्दिरका हेरालु ६२ वर्षीय भगवती उपाध्याय बताउँछिन्। केलादीधाम आश्रममा हाल पाँच हेरालुसहित २२ ज्येष्ठ नागरिक रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधामका सचिव घनश्याम खनालले बताए। यहाँ बाहिरबाट भने प्रवेशमा निषेध गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad