तुलसीपुरबासीलाई तिर्खा मेटाउने सपना देखाएर सुरु गरिएको 'बबई लिफ्टिङ खानेपानी आयोजना' मा गम्भीर लापरवाही र प्राविधिक असफलता सार्वजनिक भएको छ। ६ वटा विभिन्न स्थानमा खनिएका डिपबोरिङबाट लक्ष्य अनुसार पानी नआएपछि करोडौँको लगानी जोखिममा परेको छ।
जहाँ खनियो, त्यहाँ पानी नै आएन
तुलसीपुरको गोलौरा, सन्तनिरंकारी भवन, खानेपानी संस्थाको कार्यालय परिसर, यातायात कार्यालय नजिक, इन्द्रनगर र साविक अञ्चल प्रहरी कार्यालय परिसरमा डिपबोरिङ गर्ने गुरुयोजना थियो।
योजना अनुसार एउटा बोरिङबाट प्रतिसेकेन्ड १० लिटर पानी आउनुपर्ने थियो। तर, विडम्बना! ती स्थानमा २ लिटर पनि पानी नझरेपछि अन्ततः ती सबै बोरिङका संरचना र योजना अन्यत्र सार्नुपरेको छ। संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार डिजाइन फेल भएपछि अहिले पढ्ढामा ३ वटा र बबई नदी किनारमा २ वटा बोरिङ स्थानान्तरण गरिएको छ।
बबई नदीबाट ९० लिटर प्रतिसेकेन्ड पानी ल्याउने गरी नयाँ तयारी त थालिएको छ, तर प्रक्रिया अझै सुस्त छ। पम्प खरिद गर्नै अझै ३ देखि ४ महिना लाग्ने देखिएको छ। पम्पिङ प्रविधिबाट पानी ल्याउन डिजाइन नै परिवर्तन गर्नुपरेको छ। यद्यपि, प्रोजेक्ट म्यानेजर हरेन्द्र भट्टका अनुसार पढ्ढाबाट आउने २४ लिटर प्रतिसेकेन्ड पानी भने नयाँ वर्षभित्रै वितरण गर्ने लक्ष्य छ।
वित्तीय नालीबेली
लगानीको संरचना अनुसार सरकारले ३८ करोड ८३ लाख रुपैयाँ व्यहोर्ने छ भने १७ करोड ७ लाख रुपैयाँ उपभोक्ताको तर्फबाट जुटाइने छ। उपभोक्ताले व्यहोर्नुपर्ने रकममध्ये १४ करोड २२ लाख रुपैयाँ नगर विकास समितिबाट ऋण लिएर परिचालन गरिएको छ। एक वर्षअघि नै सम्पन्न हुनुपर्ने लक्ष्य राखिए पनि समयमा काम पूरा नभएपछि आयोजनाको अवधि २०८३ असारसम्मका लागि थप गरिएको छ।
संरचना तयार, तर मुहान सुक्खा!
अहिले तुलसीपुरमा १० हजारभन्दा बढी धारा छन् तर पानीको हाहाकार उस्तै छ। डुम्रीगाउँ, सितलपुर, झुमरे र शिखर कोलोनीमा ठूला-ठूला ट्याङ्की त बनेका छन्, तर मुहानकै टुंगो नहुँदा ती संरचना 'सेता हात्ती' बन्ने खतरा बढेको छ। रक्षाचौर क्षेत्रमा स्थानीयको विवादले पाइप विस्तारमा समेत अवरोध पुगेको छ।
तुलसीपुरबासीले अझै केही महिना काकाकुल भएरै बस्नुपर्ने निश्चित देखिएको छ। डिजाइन फेल हुनु र समयमै पम्प खरिद नहुनुले खानेपानी संस्थाको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। रासस
Shares

प्रतिक्रिया