ad ad

समाज


कालिमाटी तरकारी बजारबाट एक हजारको नमुना संकलन, ३३४ को पीसीआर परीक्षण हुँदै

कालिमाटी तरकारी बजारबाट एक हजारको नमुना संकलन, ३३४ को पीसीआर परीक्षण हुँदै

नेपालखबर
जेठ २, २०७७ शुक्रबार २:३३,

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा यसको परीक्षणलाई तीव्र बनाएको छ।

यस क्रममा पहिलो दिन बिहीबार कालिमाटी फलफूल तथा तरकारी बजारका १ हजार ३४ जनाको नमुना संकलन गरिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शुक्रबार बिहान नेपालखबरलाई जानकारी दिए।

‘आरडीटी र पीसीआर दुवै परीक्षण गर्ने लक्ष्यसाथ नमुना (रगत र स्वाब) संकलन गरेका हौं,’ उनले भने, ‘तीमध्ये ३३४ जनाको चाहिँ पीसीआर परीक्षणका लागि हिजै (बिहीबार) प्रयोगशाला (टेकु) पठाइसकेका छौं।’

उनका अनुसार काठमाडौं उपत्यकामा कम्तीमा १० हजार जनाको कोरोना परीक्षण गर्ने योजना बनाइएको छ।

‘पछिल्लो समय विभिन्न जिल्लाबाट उपत्यका भित्रिनेका कारण काठमाडौंमा अलि जोखिम बढेको छ,’ नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘त्यही भएर हामीले जोखिमका हिसाबले विभिन्न समूह छुट्याएर आरडीटी र पीसीआर परीक्षण गर्न सुरु गरेका हौं।’

निर्देशक पाण्डेका अनुसार कोरोना संक्रमण भएको पहिलो हप्तामै पत्ता लगाउन पीसीआर परीक्षण जरुरी हुन्छ भने कोरोनाले भेटेको एक हप्ताभन्दा बढी समय भएकालाई भने आरडीटी परीक्षणबाट मात्र थाहा पाउन सकिन्छ।

यसैकारण उपत्यकामा नयाँ वा पुरानो दुवै संक्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउन नमुना संकलन तथा परीक्षणलाई तीव्र पारिएको उनले बताए।

‘आज पनि नमुना संकलन जारी रहनेछ,’ उनले जानकारी गराए, ‘आजचाहिँ फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र सफाइकर्मीको नमुना संकलन गर्दै छौं।’

काठमाडौं अब कोरोनाको अति जोखिममा परेको हो?

‘अहिल्यै यसो हो भन्न सकिन्न,’ उनले भने, ‘त्यही पत्ता लगाउन हामी परीक्षण गरिरहेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .