सरकारले नवलपरासी बर्दघाट सुस्ता पूर्वमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुस्ता पूर्वमा जेईको जोखिम रहेको भन्दै फागुन २९ गतेदेखि खोप अभियान चलाएको हो। मन्त्रालय अन्तर्गगतको परिवार कल्याण महाशाखाले पछिल्लो पाँच वर्षमा नवलपरासी बर्दघाट सुस्ता पूर्वमा जेई संक्रमण उच्च देखिएकोले फागुन २९ गतेदेखि चैत ५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको जनाएको छ।

३५ वर्षभन्दा माथिका उमेर समूहलाई खोप लगाइएको छ। खोप अभियान चैत ५ गतेसम्मका लागि सञ्चालन गरिने महाशाखाले जनाएको छ।
जापानिज इन्सेफ्लाइटिसको संक्रमण ३ जनालाई भएमा एक जनाको मृत्यु हुन सक्ने तथ्यांकले देखाएको छ।
नेपालमा जापानिज इन्सेफ्लाइटिसका कारण सन् २०२३ मा ७, सन् २०२४ मा ३२ र सन् २०२५ मा ३५ जनाले ज्यान गुमाएका थिए। महाशाखाका अनुसार सन् २०२५ मा १७९ जनामा जेई संक्रमण देखिएको थियो।

जेई क्युलेक्स नामक लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ। सुँगुर, हाँस जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ। सुँगुर र हाँसमा जापानिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन्।
जेइ भाइरसले मुख्यतया मस्तिष्कलाई असर गर्छ। मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ।
Shares

प्रतिक्रिया