बिरामीको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट र तोडफोड भएपछि वीरगञ्जको नारायणी अस्पतालको सेवा अवरुद्ध भएको छ भने स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेका छन्।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन शाहले जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्र पठाएर आक्रमण गर्नेहरूमाथि कारबाहीको माग गरेका छन्। चिकित्सकमाथि आक्रमणको घटनाले काम गर्ने वातावरण नभएको जनाइएको छ।
‘उक्त घटना पश्चात अस्पतालको चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मानसिक र शारीरिक रुपमा भयभित भई सेवा प्रवाह गर्न सक्षमता नदेखाइ रहेकोले अस्पतालको सम्पूर्ण विभागको सेवा अवरुद्ध भएको बेहोरा जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ।
साउन ९ गते बिहान १० बजेतिर वीरगञ्ज महानगरपालिका–२५ का ५० वर्षीय राजकुमार पटेल अस्पताल भर्ना भएका थिए। आकस्मिक विभागमा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ११ बजे मृत्यु भएको थियो।
त्यसपछि पीडितका आफन्तजनले विरोध प्रदर्शन गर्दा तनाव उत्पन्न भएको थियो। त्यसको समाधानका लागि पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल चलिरहेको थियो।
तर, छलफलकै क्रममा एकाएक आएका केही युवाले अस्पतालमा तोडफोड गरेका थिए भने आकस्मिक विभागमा कार्यरत डा. प्रमोद रामलाई मरणासन्न हुने गरी कुटपिट गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट शाहले बताए। कुटपिटबाट गम्भीर घाइते भएका डा. रामको आईसीयूमा राखेर उपचार भइरहेको छ।
त्यस घटनापछि स्वास्थ्य भयभित भएको डा. शाहले जनाएका छन्। आक्रमण संलग्न व्यक्तिलाई पक्राउ गर्न माग गरेका छन्।
अस्तापलका सीसीटीभी फुटेज समेत प्रहरीलाई दिइसकिएको उनले बताएका छन्। आक्रमण संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही नल्याउँदासम्म काम गर्ने वातावरण बन्न नसक्ने जनाएका छन्।
Shares

प्रतिक्रिया