पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ।
गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय, दरबाङबाट गएको प्रहरी टोली र स्थानीवासी मिलेर थापालाई उद्धार गरेका हुन्।
गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरोमा परी विभिन्न ठाउँमा पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ।
पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक अवरुद्ध बनेको छ। सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउन प्रयासरत छन्।
Shares

प्रतिक्रिया