समाज


१५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टरमा मतपेटिका संकलन गरिने

१५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टरमा मतपेटिका संकलन गरिने

उजिर कार्की
फागुन १९, २०८२ मंगलबार २१:१६, काठमाडौँ

निर्वाचन आयोगले १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्ने निर्णय गरेको छ। हेलिकप्टर माग भई आएका डेढ सय मतदान केन्द्रबाट ६१ स्थानमा मतपेटिका संकलन गर्ने र त्यहाँबाट मतगणनास्थलसम्म हेलिकप्टरमा लैजाने निर्णय सोमबार निर्वाचन आयोगले गरेको हो। 

निर्वाचन आयोग स्रोतका अनुसार कोसी प्रदेशका सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका १६ वटा मतदानस्थलको मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिने छ।

बागमती प्रदेशका ३४ र गण्डकी प्रदेशका ३२ वटा मतदानस्थलको मतपेटिका संकलनका लागि पनि हेलिकप्टर माग भएको छ। बागमतीका रसुवा, दोलखा र धादिङका केही मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ। 

गण्डकीका गोरखा र मनाङका हिमाली क्षेत्रका मतपेटिका संकलनमा पनि हेलिकप्टर प्रयोग हुने भएको छ। 

लुम्बिनीको रुकुम पूर्वका ७ वटा मतदानस्थलबाट मतपेटिका संकलन गर्न हेलिकप्टर आवश्यक पर्ने भएको छ।  

कर्णाली प्रदेशका हुम्ला, डोल्पा र रुकुम पश्चिमका ४० वटा मतदानस्थलका मतपेटिका पनि विभिन्न ठाउँमा जम्मा पारेर हेलिकप्टर मार्फत नै सदरमुकाम लगिने भएको छ। 

सुदूरपश्चिमका दार्चुला, बाजुरा र बझाङका २० वटा मतदानस्थलका मतपेटिका संकलनमा पनि हेलिकप्टर खटाइने निर्णय भएको छ। मतपेटिका संकलनमा हेलिकप्टर आवश्यक पर्ने स्थानहरूको विवरण गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत संकलन गरेको हो। जिल्लाबाट माग भई आएका विवरणमा निर्वाचन आयोगले थप विश्लेषण गरेर निर्णय गरेको हो। 

सुरुमा ताप्लेजुङमा हेलिकप्टर प्रयोग नगर्ने निर्णय गरेको आयोगले सोमबार मात्रै थप गरेको हो। 

मौसम र तत्कालको अवस्था अनुसार मतपेटिका संकलनमा हेलिकप्टरको प्रयोगमा अझै पनि थपघट हुन सक्ने छ। यसअघि मतपत्र ढुवानी पनि कतिपय स्थानमा हेलिकप्टरमार्फत नै गरिएको थियो। तर सबै मतदान केन्द्रको मतपेटिका संकलन नभएसम्म त्यस निर्वाचन क्षेत्रको मतगणना सुरु नहुने भएकाले छिटो मतपेटिका संकलनका लागि हेलिकप्टर प्रयोग गरिने भएको हो।  

सबै सुरक्षाकर्मी र दलका प्रतिनिधि अनिवार्य रहने 
हेलिकप्टरमा मतपेटिका संकलन गर्दा सामाजिक सञ्जाल र सार्वजनिक रूपमै केही प्रश्न समेत उठेका छन्। दलहरूले यसअघि चुनावी प्रचारका क्रममा समेत यस्ता अभिव्यक्ति दिएका थिए। जसलाई नेपाली सेनाले खण्डन गर्दै कसरी निष्पक्ष रूपमा गरिन्छ भन्ने प्रस्ट्याएको छ।

मतदान केन्द्रबाट चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी, निर्वाचन अधिकृत र दलका तोकिएका प्रतिनिधिसहित हेलिकप्टर आउने स्थानसम्म मतपेटिका लगिनेछ। गाडीमा मतपेटिका लैजाँदा सबै सुरक्षा निकायसँगै सबै उम्मेदवारका प्रतिनिधिहरू सँगै हुन्छन्। गाडीमा यसरी मतपत्र ढुवानी गर्ने कुरामा दलहरूको कुनै पनि शंका छैन।

तर हेलिकप्टरमा ढुवानी गर्दा कसरी गरिन्छ भन्ने चासो र चिन्ता कतिपय दलका नेताहरूमा देखिन्छ। 

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत भन्छन्, ‘दलहरूकै सहमति र सहभागिता अनुसार नै मतपेटिका संकलन हुन्छ। सबै दलका प्रतिनिधि हेलिकप्टरमा अट्दैनन्। त्यसो हुँदा दलहरूलाई निश्चित प्रतिनिधि राख्नेगरी सहमति गर्न भनिन्छ। उहाँहरूले सहमति गर्नु भयो भने त्यही अनुसार ढुवानी हुन्छ। यदि सहमति नजुटेको अवस्थामा स्थलमार्गबाटै मतपेटिका संकलन हुन्छ। सेनाले प्रश्न उठ्ने गरी जिम्मेवारी निर्वाह गर्दैन।’

मतपेटिका ढुवानी पहिलो पटक नेपाली सेनाले गर्न लागेको भनि आएका विषयको पनि सेनाले खण्डन गरेको छ। विगतका निर्वाचनमा जस्तै यसपटक पनि मतदान सम्पन्न भएपछि स्थापित मापदण्ड अनुसार सेनासहित सबै सुरक्षा निकाय, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिको टोलीले मतगणना स्थलसम्म पुर्‍याउने प्रवक्ता बस्नेतले बताए। 

२०४८ सालदेखि नै निर्वाचनमा सेना परिचालन हुँदै आएको छ। मतपत्र छपाइस्थलको सुरक्षा, काठमाडौँबाट जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको क्रममा तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्ने र मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने जिम्मेवारीमा सेना खटाइँदै आएको छ। यसपटकको निर्वाचनमा पनि सेनाले यस्तै भूमिका निर्वाह हुने जनाएको छ। तर सुरक्षा बिग्रने अवस्थामा भने सेनाले निर्वाचन अधिकृत र अन्य सुरक्षा निकायसँगको समन्वयमा थप जिम्मेवारी लिने बताइसकेको छ। 

निर्वाचन आयोगको प्रोटोकल अनुसार मतपेटिका ढुवानी गर्न संयुक्त टोली परिचालन हुनेछ। टोलीकै रोहवरमा ढुवानी हुनेछ। गाडीबाट र हेलिकप्टरमा पनि संयुक्त टोलीसहित ढुवानी हुनेछ। मतपेटिका ढुवानी गर्दा सकेसम्म सबै दलका प्रतिनिधिलाई राखिनेछ। मतपत्र रहेको मतपेटिका सेनाको गाडीले बोक्दैन। 

हेलिकप्टरमा ल्याउँदा दलका प्रतिनिधिको सहमति नजुटे एस्कोर्टिङ गरेर गाडीमै ल्याइने सहायक रथी बस्नेतले बताए। 

‘नेपाली सेनालाई लाञ्छना लगाउने कुराहरू सुनिएको छ। सेनाले न अहिलेसम्म त्यस्ता काम गरेको छ, न त अब गर्ने छ। सेना क्लियर छ,’ बस्नेतले भने। 

निर्वाचनका क्रममा सुरक्षा प्रदान गर्न र मतदानपछि मतपेटिका संकलन गर्न नेपाली सेनाले चार ठाउँमा हेलिकप्टर तैनाथ गरेको छ। यी स्थानबाट सुरक्षा चुनौती भएका स्थानमा हवाइ गस्ती समेत गर्ने सेनाको तयारी छ। मतदान सम्पन्न भएपछि मतपेटिका संकलनका लागि तोकिएका स्थानमा हेलिकप्टर प्रयोग गरिनेछ।
 
सेनाले विराटनगर, काठमाडौँ, पोखरा र सुर्खेतमा हेलिकप्टर तैनाथ गरेको हो। यस्तै सेनाका स्काइ ट्रक पनि तम्तयार अवस्थामा राखिएको छ। बिहीबार मतदान सम्पन्न भएपछि सहरी क्षेत्रमा त्यही दिनबाट मतगणना सुरु हुने भए पनि दुर्गम क्षेत्रमा भने शुक्रबारसम्ममा मतपेटिका संकलन गरिसक्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad