सैनिक कमान्ड तथा स्टाफ कलेजमा गत वैशाख ०४ गतेबाट सुरु भएको सि.सं.३२ कमान्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
समारोहमा प्रधान सेनापति सिग्देलले तालिममा प्रथम हुने सेनानी दिपेन्द्र विक्रम केसीलाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार र भारतीय सेनाका मेजर अनमोल चौधरीलाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार प्रदान गरे। साथै कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नलको २७औँ संस्करण विमोचन गरे।
सोही कार्यक्रममा मास्टर्स इन स्ट्राटेजिक स्टडिज प्रोग्रामतर्फ प्रथम भएका भारतीय सेनाका मेजर अनमोल चौधरीलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक आचार्यले र कमाण्डान्ट पेपरतर्फ प्रथम भएका सेनानी सञ्जय सिलवाल र सह सेनानी विनोद कुमार गुरागाईलाई शिक्षाधिकृत उपरथी भुवन खत्रीले पुरस्कार प्रदान गरे।
समारोहमा नेपाली सेनाका ८१ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १/१ जना तथा मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका गरी ८ विदेशी सहित जम्मा ९२ जना अधिकृतहरू दीक्षित भएका हुन्। यससँगै, हालसम्म नेपाली सेनाका १३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल, नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १३२ गरी जम्मा १५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भएका छन्।
उक्त कार्यक्रममा रथीवृन्द, पूर्व शिक्षाधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका ज्येष्ठ अधिकृत, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध व्यक्ति तथा अधिकृत र शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।

Shares

प्रतिक्रिया