र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टिनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ। प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टिनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
किटको अभावपछि क्वारेन्टिनमा बसेकाहरुको थर्मल गनले ज्वरो नाप्दै घर पठाउने गरिएको छ। भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टिनमा बस्दै आएका दुई सयभन्दा बढी व्यक्तिलाई जाँचविनै घर पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए।
क्वारेन्टाइनबाट घर पठाइएका उनीहरुलाई होम क्वारेन्टिनमै बस्न भनिएको छ। प्रशासन कार्यालयको तथ्यांक अनुसार १६५ नागरिक विदेशबाट भित्रिए पनि १२९ जनाको मात्र आरडीटी गरिएको छ। कोरोना परीक्षणका लागि प्रदेश सरकारले १६० वटा मात्रै किट पठाएको थियो। त्यसमध्ये १२९ जनाको आरडिटी गरिएको र ३१ किट आकस्मिक अवस्थाका लागि राखिएको छ। प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नपठाइएको शर्माले बताए।
स्वास्थ्यचौकी भवन शिलान्यास
सिस्ने गाउँपालिका वडा नम्बर ६ ढकालबारामा स्वास्थ्यचौकी भवन शिलान्यास गरिएको छ। कोठे स्वास्थ्यचौकी भवन गाउँपालिका अध्यक्ष कुमारी बरालले आज शिलान्यास गरेका हुन्। एक वडा एक स्वास्थ्यचौकी निर्माण गर्ने सरकारको लक्ष्यानुसार भवन निर्माण हुन लागेको हो।
जनतामा उपचारको पहुँच विस्तारका लागि स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य संस्था निर्माणको काम भइरहेको छ। ढकालबाराका चन्द्रबहादुर र धनबहादुर बुढाथोकीले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष बरालले बताए।
स्वास्थ्यचौकीको भवन निर्माणका लागि एमबी ग्रुप कम्पनीले रु ३२ लाखमा ठेक्का लिएको छ। कम्पनीसँग यही असार मसान्तभित्र काम सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ। आफ्नो गाउँमै स्वास्थ्यचौकी स्थापना हुने भएपछि स्थानीयवासी खुशी छन्। यसैगरी गाउँपालिकाका वडा नम्बर ४ र ७ मा पनि स्वास्थ्यचौकी भवन निर्माणको काम शुरु भइसकेको छ। रासस
Shares

प्रतिक्रिया