काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस मन्थली नजिक पुगेपछि दुर्घटनामा परेको छ।
केहीबेरअघि भएको दुर्घटनामा कम्तीमा पनि चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशको ०१-००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस सिन्धुलीको खुर्कोटबाट झण्डै तीन किलोमिटर अगाडि रामेछापको मन्थलीतर्फको सडकबाट तामाकोसी नदीमा खसेको हो।
घटनास्थल मन्थली नगरपालिका क्षेत्रमा पर्छ। प्रहरीकाअनुसार बस रामेछापको मन्थली, धोबी, सिरिसे हुँदै ओखलढुंगाको पोल्थली जाँदै थियो।
‘मन्थली नगरपालिका क्षेत्रमा पर्ने खुर्कोट-मन्थली सडक खण्डको लिलौती पहराबाट बस नदीमा खसेको हो,’ हाल घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर राजन अधिकारीले नेपालखबरसँग भने, ‘पहराबाट खसेको बस तामाकोसीमा डुबेको छ। हामीले ६ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाएका छौँ। घटनास्थलमा चारजनाको शव फेला परेको छ। बसमा १३ यात्रु सवार थिए भन्ने प्रारम्भिक जानकारी हामीलाई आएको छ।’
केही यात्रु नदीबाट पौडिएर बाहिर निस्किएका छन्।
बससहित नदीमा कति यात्रु डुबेका छन् भन्ने खुलिसकेको छैन। केही घाइतेलाई डुंगाको सहायताबाट प्रहरीले उद्धार गरेको छ। घटनाको थप विवरण आउँन बाँकी छ।
Shares

प्रतिक्रिया