राजनीति


जंगीअड्डा पुगेर प्रधानमन्त्री कार्कीले भनिन्: चुनावी सुरक्षामा चुक हुन नदिन सतर्क हुनू

जंगीअड्डा पुगेर प्रधानमन्त्री कार्कीले भनिन्: चुनावी सुरक्षामा चुक हुन नदिन सतर्क हुनू

प्रधानमन्त्री सुशीला कार्की जंगीअड्डामा।


नेपालखबर
माघ २७, २०८२ मंगलबार ११:५६, काठमाडौँ

रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई चुनावको सुरक्षामा अलिकति पनि कमी हुन नदिन निर्देशन दिएकी छन्।

मंगलबार जंगी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा जस्तो सुरक्षा संयन्त्रबिच समन्वयमा त्रुटि नदोहोर्‍याउन सचेत गराएकी हुन्। 

सेनालाई निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरूबिच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस्।’

उनले अगाडि भनिन्, ‘यस निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस्।’

यस्तै प्रधानमन्त्री कार्कीले राजनीतिक गतिविधि पनि बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि अन्य निकायसँग सहकार्य गर्न पनि सेनालाई निर्देशन दिएकी छन्। 

उनले भनिन्, ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न अन्य निकायहरूसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न म तपाईंहरूलाई निर्देशन दिन्छु।’ 

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad