समाज


अवतरण गर्ने क्रममा जहाज जलेर टुक्रा-टुक्रा: दुई पाइलटसहित ५ जनाको मृत्यु भएको पुष्टि

अवतरण गर्ने क्रममा जहाज जलेर टुक्रा-टुक्रा: दुई पाइलटसहित ५ जनाको मृत्यु भएको पुष्टि

नेपालखबर
माघ १४, २०८२ बुधबार १३:३, काठमाडौँ

भारतीय राजनीतिको पावर-सेन्टर मानिने महाराष्ट्र राज्यमा बुधबार बिहान एउटा स्तब्धकारी घटना भएको छ। महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवार सवार चार्टर्ड विमान बारामती विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा उनीसहित पाँच जनाको मृत्यु भएको छ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार बुधबार बिहान मुम्बईबाट उडेको सो विमान आफ्नो गन्तव्य बारामतीमा अवतरण गर्ने क्रममा धावनमार्ग नजिकै खसेको थियो। विमानमा सवार पवारका दुई सहयोगी र चालक दलका दुई सदस्यको पनि घटनास्थलमै ज्यान गएको छ।

दुर्घटनास्थलबाट प्राप्त दृश्यहरूमा विमानको भग्नावशेषबाट धुवाँको बाक्लो मुस्लो उडिरहेको देखिन्छ। घटनास्थलमा सुरक्षाकर्मी र आपत्कालीन उद्धार टोलीहरू खटिएका छन्। डीजीसीएले दुर्घटनाको ठोस कारण अझै खुलाएको छैन, तर प्रारम्भिक विवरणहरूले अवतरणको ठीकअघि विमानमा गम्भीर प्राविधिक गडबडीको संकेत गरेका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार विमान अवतरणको अन्तिम चरणमा अनियन्त्रित भई भुइँमा पछारिएको थियो। दुर्घटनामा परेको जहाज बीचक्राफ्ट सुपर किङ एयर बी-२०० सिरिजको हो। यो विमान करिब १५ वर्ष पुरानो हो।

विमान भारतको एक निजी चार्टर्ड सेवा प्रदायक कम्पनीको हो, जसलाई महाराष्ट्र सरकार र भीभीआईपीहरूले लामो समयदेखि भाडामा प्रयोग गर्दै आएका थिए। यसअघि महाराष्ट्रका पूर्वमुख्यमन्त्रीहरू र केन्द्र सरकारका उच्च मन्त्रीहरूले पनि अन्तरराज्य भ्रमणका लागि यो जहाज पटक-पटक प्रयोग गरेका थिए।

सुरक्षा रेकर्डमा यसअघि ठूला समस्या नदेखिए पनि १५ वर्ष पुरानो प्रविधि र इन्जिनको सञ्चालन अवस्थाबारे प्रश्न उठेको छ। विशेषगरी, बारामती जस्तो भीभीआईपी रुटमा प्रयोग गरिने जहाजको 'मेंटिनेन्स'मा कतै हेलचेक्र्याइँ त भएन भन्ने कोणबाट पनि अनुसन्धान सुरु गरिएको छ।

अजित पवार भारतीय राजनीतिको एउटा यस्तो नाम थियो, जसले महाराष्ट्रको सत्ता समीकरणलाई पटक-पटक बदल्ने सामर्थ्य राख्थे। राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का संस्थापक शरद पवारका भतिजा रहेका अजितले केही वर्षअघि आफ्नै काकासँग विद्रोह गरी पार्टी विभाजन गरेका थिए।

निर्वाचन आयोगले उनको नेतृत्वलाई आधिकारिक एनसीपीको मान्यता दिएपछि उनी भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर सरकारमा सामेल भएका थिए।

उनी आसन्न स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि आफ्नो निर्वाचन क्षेत्र बारामती जान लागेका थिए। उनको यो आकस्मिक बिदाइले महाराष्ट्रको आगामी चुनाव र सत्ता गठबन्धनमा ठूलो रिक्तता सिर्जना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad