नेपालगन्ज (बाँके) निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वशनीय निर्वाचन भएको बताएकी छन्।
आयुक्त तुलाधरले निर्वाचनलाई सफल बनाउने दायित्व निर्वाचन अधिकृतहरूको भएकाले प्रशिक्षण कार्यक्रमले निर्वाचनका कानुनी, प्राविधिक, प्रशासनिक पक्षको आवश्यक ज्ञान, सीप, साझा बुझाइ विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
निर्वाचनको प्रत्येक चरण निर्वाचनको तयारीदेखि मतगणना, नतिजा घोषणासम्म र आचारसंहिता आयोगका निर्देशनअनुसार सञ्चालन हुनु अनिवार्य भएकामा जोड दिँदै उनले त्यसका लागि व्यावसायिक दक्षता, निष्पक्ष आचरण, उच्च नैतिकता हुनुपर्ने बताइन्।
‘निर्वाचनको व्यवस्थापन आजको सन्दर्भमा केवल प्रशासनिक काम मात्र नभई विधि, समावेशिता, पारदर्शिता र जनविश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो’, उनले भनिन्।
त्यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुरक्षाको समन्वय गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको भएको उल्लेख गर्दै बाँकेमा निर्वाचनपूर्वको प्राविधिक तयारी भइरहेको जानकारी दिए।
अभिमुखीकरणमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको थियो। रासस
39
Shares

प्रतिक्रिया