समाज


माम्खामा निर्माणाधीन सडक भासिँदा ६ घर जोखिममा

माम्खामा निर्माणाधीन सडक भासिँदा ६ घर जोखिममा

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार ७:१२, खोटाङ

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको पर्खाल) बनिनसक्दै भासिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माणाधीन ग्याबिन वाल दोस्रो पटक बनिनसक्दै भासिएको हो।

सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तर्गत योजनामार्फत हालिएको ग्याबिन बाल यही जेठ १५ गतेदेखि भासिन थालेको स्थानीयले बताएका छन्। निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले ग्याबिन वालको काम अन्तिम चरणमा पुर्‍याएको अवस्थामा सकिनुअगावै वालको बीच भाग भासिएको हो।

तारजाली भर्दै सडकसम्म अग्लो पर्खाल निकालिसकिएको र त्यसमाथि माटो फिलिङ गरेर सम्याउने काम सक्नुअगावै पर्खाल भासिएको ठेकेदार कम्पनीले जनाएको छ। माम्खामा भित्तातिरको चट्टान काटेर सडक चौडा बनाए मात्र दीर्घकालीन समस्या समाधान हुने स्थानीयले बताउँदै आएका छन्।

सडकको ग्वाबिन वाल भासिएपछि त्यसभन्दा तलका बस्तीमा रहेका घरहरू पहिरोको जोखिममा परेका छन् । स्थानीय भीमराज राई, देवेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई र नरबहादुर राईको घर पहिरोको जोखिममा परेको हो।

ग्याबिन वाल भासिएपछि त्यसभन्दामुनिका मकैबारीसमेत चर्किएको छ । कतिपयले बलियो जग नभेट्दै ठेकेदारले पर्खाल उठाएका कारण भासिएको आरोप लगाएका छन् भने, कतिपयले कमजोर भू–बनोटका कारण पर्खाल भासिएको बताएका छन्।

दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रकै चरणमा सो स्थानमा हालिएको आरसिसी वाल पनि भासिएको थियो । आरसिसी वाल ढल्किएर सडकभन्दा तल पुगेपछि सो स्थानमा हालसम्म सडकलाई साँघुरै अवस्थामा छाडिएको थियो।

सकड कालोपत्र भएको लामो समयसम्म अधुरै अवस्थामा राखिएको माम्खामा सडकको ग्याबिन वाल भासिएपछि सडक डिभिजन हर्कपुरका सिनियर डिभिजन इन्जिनियर सविन जोशी नेतृत्वको टोली निरीक्षण गर्न माम्खा पुगेका थिए । माम्खामा भासिएको पर्खालको विषयमा प्राविधिक टोलीको प्रतिवेदन आएपछि मात्रै निर्माणको काम पुनःअगाडि बढाउने ठेकेदार कम्पनीले जनाएको छ।

कमजोर भू–बनोटका कारण निर्माणाधीन पर्खाल भासिएको देखिएको इन्जिनियर जोशीले प्रतिक्रिया दिए । “माम्खामा देखिएको केस अलि बेग्लैखालको छ।

त्यहाँ काम गर्ने ठेकेदारको त्रुटी पनि देखिएका छैन”, उनले भने, “यस विषयमा सम्बन्धित विज्ञसँग सल्लाह गरिरहेका छौँ । के गर्दा दीर्घकालीन समस्या समाधान हुन्छ । त्यसपछि मात्रै प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौँ।”

दोभान निर्माण सेवाले गत वैशाख ६ गतेसम्ममा सक्नेगरी विसं २०८२ मङ्सिर ४ गते ठेक्का सम्झौता गरेको थियो। तर, काम सम्पन्न नभएपछि असार १५ गतेसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय हर्कपुरले जनाएको छ।

दिक्तेल–चखेवा सडकखण्डको विभिन्न ठाउँमा ग्याबिन वाल, प्लम वाललगायतका काम गर्नका लागि रु दुई करोड ७९ लाख ७७ हजार ९१२ मा ठेक्का लगाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

माम्खामा निर्माणाधीन ग्याबिन वाल अन्तिम चरणमा भासिएपछि निर्माणको काम ठप्प भएको छ । दिक्तेल–चखेवा सडकखण्डकै पङ्खुखोलामा निर्माणाधीन पक्की पुल अलपत्र छ । पक्की पुल अभावमा वर्षाद्का समयमा यातायात सेवासमेत अवरुद्ध हुँदै आएको पङ्खुखोलामा श्रम संस्कृति पार्टीमा आबद्ध श्रमदाताले काठको पुल निर्माण गरेका छन्।

पङ्खुखोलामा पक्की पुल नहुँदा बिरामी र विद्यार्थी सबैभन्दा बढी समस्यामा परेकाले मोटरसाइकल र अटो वारपार गर्न मिल्नेगरी काठको पुल निर्माण गरिएको बुवालुङका पार्टी अध्यक्ष धनप्रसाद राईले जानकारी दिए।

श्रमदाताले तीन दिन लगाएर निर्माण गरेको काठको पुलले आवतजावतमा सहज भएको स्थानीयले बताएका छन् । दिक्तेल–चखेवा सडकखण्डकै सेखुवाखण्डको १० किलोमिटर कालोपत्रमा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ।

विसं २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्नेगरी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले रु ३२ करोडमा विसं २०७२ चैत २ गते सम्झौता गरेको यो सडक अहिले अलपत्र अवस्थामा छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad