समाज


ओखलढुंगामा दम्पतीको बीभत्स हत्या, तालिम प्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

ओखलढुंगामा दम्पतीको बीभत्स हत्या, तालिम प्राप्त कुकुरसहित प्रहरी  घटनास्थलमा

नेपालखबर
पुस १६, २०८२ बुधबार ९:३६, काठमाडौँ

ओखलढुंगामा दम्पतीको हत्या भएको छ। 

चिशङ्खुगढी गाउँपालिका–६  भदौरे निवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको मंगलबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

बिहान अबेरसम्म उनीहरू घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी सुरु गरेका थिए। 

बाहिरबाट बोलाउँदा कुनै पनि प्रतिक्रिया नआएपछि घरभित्र पसेर हेर्दा दुवैलाई मृत अवस्थामा फेला पारिएको छिमेकीले बताएका छन्। 

घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको देखिएको छ। 

‘घटना अनुसन्धान गर्न कोसी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुर ल्याएका छौँ,’ इन्सपेक्टर भट्टराईले नेपालखबरसँग भने, ‘कुकुर राति यहाँ आइपुगेको छ। राति पनि हामीले कुकुरसहित केही अनुसन्धान गर्‍याैँ। अहिले बिहानबाट थप अनुसन्धान सुरु भइसकेको छ।’

उनले शव अहिले पनि घटनास्थलमै रहेको बताए।

‘त्यो घरमा पतिपत्नी मात्रै बस्नु हुने रहेछ, छोराछोरी बाहिर हुनुहुन्छ भन्ने छ। तालिम प्राप्त कुकुरबाट अनुसन्धान नगरि शव घटनास्थलबाट उठाइने छैन,’  उनले भने। 

हत्या कसले र किन गर्‍याे खुलेको छैन। दोषी पहिचानका लागि सम्भावित सबै कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ। ‘हामीले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखेका छौँ। अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनौँ,’ इन्सपेक्टर भट्टराईले भने। 

केही महिनाअघि पनि सिद्धिचरण नगरपालिका–४  चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको घरैमा हत्या भएको थियो। 

कार्कीका हत्यारालाई अझै पत्ता लागेका छैनन्। यो घटनामा पनि प्रहरीले तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad