नेपाली युवा वैज्ञानिक तथा क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवालीले ‘ग्लोबल अन्कोलोजी’ क्षेत्रमा पहिलो स्थान हासिल गरेका छन्।
उनी प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्म ‘स्कलर जीपीएस’को विश्व नम्बर एक वरीयतामा पर्न सफल भएका हुन्।
डा. ज्ञवाली क्यान्सर रोगको अनुसन्धान र अध्यापनमा सक्रिय छन्। स्कलर जीपीएसमा विश्वका हजारौँ विश्वविद्यालय, अनुसन्धान संस्था र तीन करोडभन्दा बढी विज्ञ–वैज्ञानिकहरू समेटिएका छन्।
‘स्कलर जीपीएस’ले एआईको सहयोगमा अनुसन्धानकर्ताहरूको शैक्षिक योगदान, प्रकाशित शोधपत्र, साइटेसन, प्रभाव र दीर्घकालीन योगदानको विश्लेषण गर्दै वरीयता निर्धारण गर्दै आएको छ।
कम आय भएका देशहरूमा क्यान्सर उपचार महँगो र मृत्युदर उच्च रहेको यथार्थलाई ध्यानमा राख्दै डा. ज्ञवाली र उनको टोलीले लागत–प्रभावी र बिरामी–केन्द्रित उपचारमा केन्द्रित भएर अनुसन्धान गर्दै आएका छन्। उनको अनुसन्धान र योगदानबाट नेपालसहित विश्वका धेरै देशका क्यान्सर बिरामी, स्वास्थ्यकर्मी र नीतिनिर्माता लाभान्वित भइरहेका छन्।
डा. ज्ञवाली पहिलो वरीयतामा परेका ‘ग्लोबल अन्कोलोजी’को मुख्य लक्ष्य उच्च आय भएका देश र न्यून तथा मध्यम आय भएका देशहरूबीचको क्यान्सर उपचार असमानता घटाउनु हो।
यस अवधारणाले क्यान्सरको रोकथाम, प्रारम्भिक निदान, प्रभावकारी उपचार र अनुसन्धानमा समान पहुँच विस्तार गर्न जोड दिन्छ।
डाक्टर ज्ञवाली क्यानडाको किङस्टनस्थित क्विन्स युनिभर्सिटीमा सहप्राध्यापक छन्। उनको मुख्य विशेषज्ञता क्यान्सर, केमोथेरापी, स्तन क्यान्सर, ग्लोबल अन्कोलोजी, मिडल क्लास, मेटा एनालाइसिस, डायबिटिज, कोभिड १९, फुड एडमिनिस्ट्रेसन, क्यान्सर स्क्रिनिङ, कम्युनिटी हेल्थ, लंग क्यान्सर, नियोप्लाज्म, हाइपरटेन्सन र इन्फेक्सनमा रहेको छ।
Shares

प्रतिक्रिया