समाज


त्रिविका गोल्ड मेडलिस्टहरू सरकारी जागिरे, रुचिको विषय पढ्दा बने अब्बल (भिडिओ)

त्रिविका गोल्ड मेडलिस्टहरू सरकारी जागिरे, रुचिको विषय पढ्दा बने अब्बल (भिडिओ)

प्रज्ञा तिम्सिना
पुस १०, २०८२ बिहिबार २०:५२, काठमाडौँ

कक्षा १२ मा पढ्दै गर्दा भावना अधिकारीलाई उनका बुबाले भनेका थिए, ‘छोरी नेपालमै बस्नुपर्छ। देशको सेवा गर्नुपर्छ।’

यही कुरा भावनाको मनमा बस्यो। ३ महिनाअघि मात्रै लोकसेवामा नाम निकालेकी उनै भावना कानुन विषयमा नेपाल प्रथम भएकी छिन्। 

नेपाल ल क्याम्पसबाट बीएएलएलबी मा ३.८ जीपीए ल्याएकी उनले बिहीबार त्रिविको ५१ औँ दीक्षान्त समारोहमा लोकराज ज्ञवाली पदक र पुरस्कार पाएकी छिन्। 

‘आज बुबाको सपना साकार गरेर गोल्ड मेडल पाउन सफल भएकी छु। उहाँले देशकै सेवा गर, बाहिर जान दिन्नँ भन्नुहुन्थ्यो,’ उनले भनिन्। 

विज्ञान विषय लिएर कलेज सुरु गरेकी उनलाई सो विषयमा आफू ‘फिट’ नभएको लाग्न थालेको थियो। अनि उच्च शिक्षाका लागि कानुन विषय लिएर पढ्ने सोचिन्। नेपाल ल क्याम्पसले लिएको प्रवेश परीक्षामा उनको नाम दोस्रो नम्बरमा निस्कियो। त्यसपछि सरकारी सेवामा लाग्ने उनको अठोट अझै दृढ भयोे। पढ्दै गर्दा सरकारी अफिसर बनेर निलो कोट लगाउने सपना बुन्न थालिन् उनी। 

स्नातक तह सकिएपछि भावना लोकसेवाको परीक्षा तयारीमा जुटिन्। ६ महिनाको तयारीमै उनले लोकसेवाको परीक्षा उत्तीर्ण गरेकी हुन्। हाल उनी पशुसेवा विभागमा कानुन अधिकृत छिन्। 

बुबाको सपना पूरा गर्दै सरकारी सेवामा रहेकी भावनाले त्रिविको गोल्ड मेडल पाउँदा परिवारमा खुसीको माहोल छ। 

‘आफूले मेहनत गर्दै जानुपर्छ, ढिलोचाँडो पुगिन्छ,’ भावनाले खुसी हुँदै भनिन्।

कमल पौडेल पनि आज दशरथ रंगशालामा पदक पाउने विद्यार्थीको सूचीमा थिए। त्रिभुवन विश्वविद्यालयबाट तीन वटा पदक पाएका उनी ९ वर्षदेखि सरकारी सेवामा छन्। स्नातकोत्तर तहमा अर्थशास्त्र विषयमा सबैभन्दा धेरै नम्बर ल्याएर उनी तीन पदक पाउन सफल भएका हुन्। 

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेपछि उनी सरकारी सेवामा प्रवेश गरेका थिए। कमल हाल सवारी परीक्षण कार्यालय बुटवलमा मेकानिकल इन्जिनियर छन्। 

काम गर्दै जाँदा उनलाई अर्थशास्त्र विषयमा रुचि बढ्दै गयो। बुटवल बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषय लिएर स्नातकोत्तर तहमा उनी भर्ना भए। जागिरसँगै पढाइ अघि बढाएका कमलले अर्थशास्त्र विषयमा ३.७७ जीपीए ल्याएर उत्तीर्ण गरे। अब्बल जीपीएका कारण उनी तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिं प्रधान पदक, चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पाउन सफल भए। 

अहिले आफ्नो परिवारमा गर्वको माहोल सिर्जना भएको उनी बताउँछन्।

भन्छन्, ‘मेरो परिवारले त मलाई इन्जिनियर बनाएको हो। उहाँहरूलाई छोरा सरकारी पेसामा काम गर्दै छ भन्ने थाहा थियो। एकै पटक तीन पदक पाउँदा उहाँहरू पनि अच्चममा पर्नुभयो,’ कमल सुनाउँछन्।

दशरथ रंगशालामा कालो गाउन र टोपी लगाएका हजारौँ विद्यार्थीको भिडमा थिइन्  सुभाषी कार्की पनि। के एन्ड के इन्टरनेसनल कलेजमा बीए पढेकी उनले महिलाहरूमध्ये सबैभन्दा धेरै नम्बर ल्याएकी छिन्। 

बाल्यकालदेखि नै सुभाषीको रुचि मनोविज्ञान विषयमा थियो। परिवारको चाहना भने डाक्टर। त्यसैले कक्षा ११ मा विज्ञान विषय लिइन्। तर आफूलाई रुचि लागेको विषय मनोविज्ञानबाट टाढा जान सकिनन् उनी। 

स्नातकमा मानविकी संकायमा भर्ना भइन्। सोसल वर्क र मनोविज्ञान उनको मुख्य विषय बन्यो।

घरमा आमाबुवालाई आफूले गलत विषय पढेको होइन भन्ने प्रमाणित गर्नु थियो उनलाई। आज ज्ञानप्रसाद पुरस्कार पाएकी उनले भनिन्, ‘आफूले रोजेको विषय लिएर पढेँ र सफल भएँ। खुसी लागेको छ। परिवार पनि खुसी छन्।’

उनको जस्तै कथा सौरभ कोइरालाको पनि। थापाथली क्याम्पसबाट इन्जिनियरिङ सकेका सौरभलाई समाजशास्त्र विषयमा रुचि बढ्दै गयो। 

त्यसपछि स्नातकोत्तर गर्न उनले समाजशास्त्र नै चुने। र, उनले ३.७ जीपीए ल्याए। सौरभ आज सुमन रिजाल पदकबाट सम्मानित भए। 

इन्जिनियरिङको समेत ज्ञान भएको सौरभ अब समाजको संरचना कस्तो छ भन्ने अध्ययनमा छन्। 

‘आफूले बनाउने डिजाइन समाज सुहाउँदो कसरी हुन्छ, इन्जिनियरिङले भौतिक कुराहरूको अध्ययन गर्न सिकायो। तर, मलाई समाजको अध्ययन गर्नुपर्छ जस्तो लाग्यो। त्यसैले मलाई आज सफल बनाएको छ,’ उनले भने। 

नेपालमै बस्ने सोच बनाएका सौरभ सरकारी सेवामा प्रवेश गर्न चाहन्छन्। उनले आफू लोकसेवाको तयारी गरिरहेको बताए।

९ पदक छात्राको हातमा 
बिहीबार भएको त्रिवि दीक्षान्त समारोहमा २० जनाले २५ पदक पाएका छन्। जसमा ९ जना छात्रा छन्। सबैभन्दा धेरै नम्बर ल्याउने पनि छात्रा नै छन्। 

फुर्वा शेर्पाले त्रिविको व्यापार प्रशासन (बीबीए) मा सर्वोत्कृष्ट नतिजा ल्याएर इतिहास रचेकी छिन्। उनले ३.९८ जीपीए ल्याएर भाइस चान्सलर पदक र भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पदक पाएकी छिन्। 

त्यस्तै, एमबीएमा ३.९३ जीपीए ल्याएकी रक्षा भेटवालले श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक पाएकी छिन्।  मदन विद्या वातावरण विज्ञान पदक निरु बस्नेतले पाएकी छिन्। उनले वातावरण विज्ञान विषयमा ३.९२ जीपीए ल्याएकी छिन्।
 
नेबैँलि सरदार गुञ्जमान सिं स्वर्ण पदक सुनिता पुडासैनीले ३.८२ जीपीए ल्याएर पाएकी छिन्।  रामकृष्ण न्हुँच्छे प्रधान पुरस्कार समिता महर्जनले पाएकी छिन्। उनले स्नाकोत्तर तहमा व्यवस्थापन संकायबाट ३.७९ जीपीए ल्याएकी छिन्। 

राजनीतिशास्त्रमा ३.७९ ल्याएर ल्याएर प्रतिभा पौडेलले दुई पदक पाएकी छिन्। प्रतिभाले बडाकाजी मरिचमान सिंह पदक र ललित चन्द्र पुरस्कार पाएकी हुन्। 

त्यस्तै, रस्मिता कार्कीले स्नाकोत्तरतहमा पुस्तकालय विज्ञान विषयमा ३.७९ जीपीए ल्याएर पदक पाएकी छिन्। उनले शान्ति नारायण मिश्र पदक पाइन्। 

अनुसा रोकाले नारायण शान्ति मिश्र पदक पाएकी छिन्। उनले पत्रकारित तथा आमसञ्चार विषयमा ३.७३ जीपीए ल्याएकी हुन्। 

कानुन संकायबाट भावना अधिकारीले पदक पाएकी छिन्। उनले ३.८ जीपीए ल्याएर लोकराज ज्ञवाली पदक र पुरस्कार पाएकी छिन्। 

माइक्रोबायोलोजी विषयमा उत्कृष्ट नम्बर सहित अग्रनी पौडेलले पदक पाएकी छिन्। उनले टीकाबल्लभ डिलकुमारी घिमिरे स्मृति पदक पाएकी छिन्।  

सुभाषी कार्कीले ज्ञानप्रसाद पुरस्कार पाएकी छिन्।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad