भारतीय सुरक्षा बलले सीपीआई (माओवादी) केन्द्रीय समितिका सदस्य गणेश उइके मुठभेडमा मारिएको दाबी गरेको छ। साथै अन्य पाँच भारतीय माओवादी पनि मारिएका छन्।
भारतीय प्रहरीले खोजी अभियान जारी रहेको बताएको छ।
सीपीआई (माओवादी) का बाँकी शीर्ष नेताहमध्ये एक गणेश उइके उर्फ पाका हनुमन्थुको नाममा १ करोड रुपैयाँभन्दा बढीको इनाम घोषणा थियो।
ओडिसाका डीआईजी अपरेसन्स अखिलेशेश्वर सिंहले विशेष गुप्तचर शाखाबाट प्राप्त जानकारीका आधारमा अपरेसन सुरु गरिएको र माओवादीहरूलाई निरन्तर निगरानी गरिरहेको बताए।
उनले भने, 'गणेश उइकेको मृत्युले माओवादी आन्दोलनलाई ठूलो धक्का दिएको छ।'
प्रहरीका अनुसार, सुरक्षाकर्मील बुधबार छत्तीसगढको सिमानामा रहेको ओडिसाको कन्धमाल जिल्लामा माओवादीविरुद्ध अपरेसन सुरु गरेका छन्।
यस अपरेसनमा ओडिसा प्रहरीको विशेष अपरेसन समूह, सीआरपीएफ र सीमा सुरक्षा बलका कर्मचारी संलग्न छन्।
बिहीबार बिहान गंजम क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भिडन्त भएको बीबीसी हिन्दीले जनाएको छ।
प्रहरीका अनुसार भिडन्तपछि घटनास्थलबाट ६ जना माओवादीको शव बरामद गरिएको छ। मारिएका माओवादीहरूमा दुई छत्तीसगढका कार्यकर्ता छन्, जो दुई राज्यको सीमामा सक्रिय थिए।
सुरक्षा एजेन्सीहरूले माओवादीहरूको सम्भावित उपस्थितिलाई ध्यान दिँदै कन्धमाल र आसपासका क्षेत्रमा खोजी अभियान अझै जारी रहेको बताएका छन्। शंकास्पद क्षेत्रमा थप सुरक्षा बल तैनाथ गरिएको छ र जंगलमा गहन खोजी भइरहेको छ।
यसैबीच भारतका गृहमन्त्री अमित शाहले पनि यस विषयमा बताएका छन्।
गृहमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो नक्सलमुक्त भारततर्फको महत्त्वपूर्ण उपलब्धि हो।'
'ओडिसाको कन्धमाल जिल्लामा भएको एक प्रमुख कारबाहीमा केन्द्रीय समिति सदस्य गणेश उइकेसहित अहिलेसम्म ६ जना नक्सलवादी मारिएका छन्।'
विज्ञप्तिमा अगाडि भनिएको छ, 'यो ठुलो सफलतासँगै ओडिसा नक्सलवादबाट पूर्ण रूपमा मुक्त हुने संघारमा छ।'
भारतमा माओवादीलाई नक्सलवादी पनि भनिन्छ।
Shares

प्रतिक्रिया