सहिद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै सहिद परिवारका सदस्यहरूले आन्दोलन गर्ने घोषणा गरेका छन्।
मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका सहिद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरूको आरोप छ।
सहिद परिवारको अपमान गर्न खोजिएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन्। मधेसी सहिद प्रतिष्ठानका सदस्यहरूले पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारसम्म आफूहरुको माग सम्बोधनमा सरकारले गम्भीरता नदेखाए आन्दोलन गर्ने बताए।
सरकारले सहिद परिवारलाई अपमान गर्नुका साथै मधेसी सहिद प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको आफूहरूलाई महशुस भएको उनीहरूको भनाइ छ। मधेसी सहिद प्रतिष्ठानका सदस्य शुभम यादवले आफूहरू प्रतिष्ठानमा आएको ७/८ महिना भइसक्दा समेत तलबसम्म नपाएको गुनासो गरे।
गृह सञ्चार तथा कानुन मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि आफूहरूलाई व्यवस्थापन नै नगरी कार्यालय खाली गर्न दबाब समेत आइरहेको उनले आरोप लगाए।
मधेसी सहिद प्रतिष्ठानका सदस्य यादवले प्रतिष्ठानको ऐन बनेको महिनौ बितिसक्दा समेत ऐन मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएर प्रदेश सभामा लैजाने कुनै तयारी सरकारले नगरेको समेत बताए। रासस
Shares

प्रतिक्रिया