समाज


ऋण पचाउन २ दिनमा २ जनाको हत्या गरेर शव लुकाए, छुटेको चप्पलले खोल्यो पोल

ऋण पचाउन २ दिनमा २ जनाको हत्या गरेर शव लुकाए, छुटेको चप्पलले खोल्यो पोल

उजिर कार्की
पुस ७, २०८२ सोमबार २१:४७, काठमाडौँ

२०८२ मंसिर २८ गते जिल्ला प्रहरी परिसर ललितपुरमा दुई जना मान्छे हराएका छुट्टाछुट्टै निवेदन पर्‍यो। भोजपुरको अरुण गाउँपालिका ३ का २१ वर्षीय पारुहाङ राई हराएको भन्दै उनकी दिदीले निवेदन दिइन्। 

सिन्धुलीको गोलाञ्जोर गाउँपालिका ५ ताप्केडाँडाका २५ वर्षीय सुनिल भन्ने केशवराज हायु हराएको भन्दै उनका बुवाले खोजतलासका लागि निवेदन दिए। त्यसपछि प्रहरीले यी दुई जनाको खोजतलास सुरु गर्‍यो। साथै, कुनै घटना भएको हुन सक्ने आशंकामा अनुसन्धान पनि अगाडि बढायो। 

जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध अनुसन्धान कार्यालय अन्तर्गत ललितपुरमा रहेको टिमले अनुसन्धान थाल्यो। 

‘कल डिटेल हेर्‍यौँ। त्यसमा केही नम्बरहरू हामीले नोटिसमा राख्यौँ,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले भने। 

यता ललितपुर परिसरले पनि सम्भावित मानिसहरूलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गर्‍यो। पुस २ गते पारुहाङ राईकी दिदीसहित दुवै परिवारका आफन्तहरू प्रहरी कार्यालय पुगेका थिए। यता प्रहरी कार्यालयमा छलफल चल्दैथियो, दिउँसो ३ बजेतिर ललितपुरको महालक्ष्मी नगरपालिका ८ शेराफाँट लुभुस्थित तरकारी बारीमा रहेको इनारमा एउटा शव फेला परेको जानकारी प्रहरीलाई स्थानीयले दिए। 

पछि खुल्यो शव केशवराज हायुको रहेछ। हायुकै बारेमा बुझ्न प्रहरीले सिन्धुलीकै सुनकोसी गाउँपालिका ४ कोटगाउँका २१ वर्षीय रमेश भन्ने देवराज ढुंगेललाई पनि बोलाएको थियो। देवराज खासगरी प्रहरी कार्यालयमा उनै हायु हराएको भन्दै पहिल्यै पुगेका थिए। देवराजले केशवराज आफ्नो जेठान दाइ भएको बताएका थिए।

आफूले केशवराजकी बहिनी बिहे गरेको र उनी हाल जापान रहेको देवराजको भनाइ थियो। तर केशवराजका आफन्तले भने सम्पत्ति खानका लागि मात्रै देवराजले यस्तो नाता जोडेको दाबी गरेका छन्। 

केशवराजको शव फेला परेपछि प्रहरीलाई दुई वटा शंका भयो। पहिलो, हराएका भनेका पारुहाङ राईले नै उनको हत्या गरेर सम्पर्कविहीन भएको हुनुपर्छ। दोस्रो, पारुहाङको पनि हत्या भएको हुनुपर्छ। 

देवराज भने प्रहरीकै सम्पर्कमा थिए। केशवराज हायु र देवराज ढुंगेलले संयुक्त रूपमा कृषि फार्म पनि सञ्चालन गरेका थिए। 

पारुहाङकी दिदी पनि प्रहरी कार्यालयमै थिइन्। प्रहरीले सोधपुछ गरिरहँदा पारुहाङकी दिदीले देवराजलाई आरोप लगाइन्, ‘यो मान्छेले मेरो भाइलाई कहाँ पुर्‍यायो? उसैले हो एजेन्ट (वैदेशिक रोजगारीमा पठाउने) चिनाएको।’

पारुहाङ वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। देवराजले भने उनलाई आफूले बेपत्ता बनाएको नभई उनैले केशवराजको हत्या गरेको हुनसक्ने आशंका प्रहरीसँग गरिरहेका थिए। 

२ गते प्रहरी कार्यालय पुगेका देवराजलाई त्यसैदिन अपराध अनुसन्धान कार्यालयको ललितपुरको टोलीले नियन्त्रणमा लिएर सोधपुछ थाल्यो। तर कसैगरी स्वीकार गरेनन्। 

चप्पलले खुल्यो पोल
पुस २ गते दिउँसो ३ बजेको समयमा ललितपुर महालक्ष्मी नगरपालिका ८ शेराफाँट लुभुस्थित सानोकान्छा श्रेष्ठको तरकारी बारीमा रहेको इनारमा केशवराज हायुको शव फेला परेको थियो। शव बोरामा पोको पारेर फालिएको थियो। 

हायु आमाको उपचारका लागि काठमाडौँ आएका थिए। उपचारपछि आमालाई पठाइदिए। उनी भने बेपत्ता भएका थिए। 

शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो। इनार नजिकै एक जोर चप्पल फेला पर्‍यो। ती चप्पलको अनुसन्धान गर्दै जाँदा चप्पल देवराजको भएको खुल्यो। यसअघि तिनै चप्पल लगाएको भिडिओ प्रहरीले फेला पार्‍यो। त्यसपछि देवराजले नै हत्या गरेको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान अगाडि बढायो। देवराजको कोठामा खानतलासी लियो। 

उनी ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथली बस्थे। उनको कोठाबाट हत्यामा प्रयोग भएका सामग्री बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए। बोगटीका अनुसार हतौडा, प्यान्ट, झोला, बोराजस्ता सामान कोठामा फेला परेको थियो। 

त्यसपछि उनले हत्या स्वीकारे। र, आफू मात्रै नभई सिन्धुलीकै अर्का व्यक्तिको पनि संलग्नता रहेको बताए। सोही गाउँका जयराम अधिकारीको पनि संलग्नता रहेको देवराजले बताए। त्यसपछि अपराध अनुसन्धान कार्यालयको टोली जयरामलाई खोज्नतिर लाग्यो। सिन्धुली पुगेर आइतबार जयरामलाई पक्राउ गरेर रातारात काठमाडौँ ल्यायो। ल्याउँदै गर्दा जयरामले स्वीकार गरे। उनले हायुको हत्या गरेको स्वीकार मात्रै गरेनन् अर्को व्यक्तिको पनि हत्या गरेको पोल खोले। 

पारुहाङ राईको हत्या पनि आफू र देवराजले मिलेर गरेको उनले बताए। सिन्धुलीबाट काठमाडौँ ल्याउँदै गर्दा उनलाई प्रहरीले सिधै घटनास्थल लग्यो। जयरामले पारुहाङको शव रहेको स्थान देखाए। भक्तपुरको देउराली भन्ज्याङको झाडीमा पारुहाङको शव फेला पर्‍यो। उनीहरूले दुवै जनालाई एउटै हतौडाले हानेर छुट्टाछुट्टै मितिमा हत्या गरेको खुलेको छ।   

ऋण पचाउन दुवै जनाको हत्या 
प्रहरीका अनुसार केशवराज हायु र पारुहाङ राईको हत्या आर्थिक लेनदेनका कारण भएको खुलेको छ। पारुहाङले वैदेशिक रोजगारीमा युरोप जानका लागि देवराज मार्फत एजेन्टसँग चिनजान गरेका थिए। पारुहाङले ५ लाख ४० हजार रूपैयाँ एजेन्टलाई दिन भन्दै देवराजलाई नै बुझाएका थिए। 

तर देवराजले त्यो रकम एजेन्टलाई नदिई आफ्नै ऋण तिरेको खुलेको छ। केशवराजसँग पनि ११ लाख रूपैयाँ लेनदेनको विवाद देखिएको छ। सँगै कृषि फार्म सञ्चालन गरेका देवराजले केशवराजको ११ लाख रूपैयाँ चलाएका थिए। 

यो रकम तिर्नुभन्दा हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ। जुन कुरा घटना शृंखलाले पनि पुष्टि गर्छ। 

मंसिर २४ गते गाउँबाट आमाको उपचारका लागि काठमाडौँ आएका केशवराजलाई देवराज र जयरामले कतै घुम्न जाने प्रस्ताव गर्छन्। केशवराजले नै कोटेश्वरको एउटा वर्कसपबाट मोटरसाइकल भाडामा लिन्छन्। त्यो मोटरसाइकलमा जीपीएस पनि जडान गरिएको हुन्छ।

उनीहरू तीनै जना एउटै मोटरसाइकलमा लुभुमाथिको ज्यामिरेकोटमा पुग्छन्। साँझ रक्सी खान थाल्छन्। पैसाको विषयमा झगडा सुरु हुन्छ। अनि देवराजले आफूले साथमा बोकेको हतौडाले हानेर हायुको हत्या गरेको प्रहरीको दाबी छ। हत्यापछि दुवै जना राति फर्किन्छन्। 

कोठामा आएपछि अनलाइनबाटै खाना मगाएर खान्छन् र सुत्छन्। भोलिपल्ट बिहानको खाना खाइसकेपछि पारुहाङलाई फोन गरेर भेट्न प्रस्ताव गर्छन्। पारुहाङ पनि उनीहरूले भनेपछि भेट्न तयार हुन्छन्। 

त्यसपछि तीन जना भक्तपुरको देउराली भञ्ज्याङ पुग्छन्। त्यहाँ पुगेपछि उनीहरूले अघिल्लो राति केशवराज हायुको हत्या गरेको सुनाउँछन्। पारुहाङले त्यसो नगर्नु पर्थ्यो भन्दै उनीहरूलाई गाली गर्छन्। त्यसपछि पारुहाङले आफ्नो विदेश जाने प्रक्रिया ढिलो भएको भन्दै छिटो गर्न भन्छन्। त्यसक्रममा उनीहरूबीच पनि झगडा हुन्छ। त्यही क्रममा पारुहाङको पनि हत्या अघिल्लो दिनदेखि बोकेको हतौडाले हानेर गर्छन्। 

देवराजले जयरामलाई पनि हान्न लगाउँछन्। अनि प्लास्टिकमा पोको पारेर त्यहीँ फालिदिन्छन्। २५ गते पारुहाङको हत्या गरिसकेपछि उनीहरू चाँगाथलीबाट डेरा सर्न खोज्छन्। २६ गते दिनभर भक्तपुरतिर डेरा खोज्न जान्छन् तर भेट्दैनन्। डेरा नभेटेपछि बेलुकी उनीहरू २ दिनअघि हायुको हत्या गरेको स्थानमा पुग्छन्। शव त्यहीँ हुन्छ। त्यसलाई बोरामा पोको पारेर राति मोटरसाइकलमा लिएर फर्किन्छन्। 

अनि लुभुस्थित सानाकान्छा श्रेष्ठको तरकारी बारीमा रहेको इनारमा फालिदिन्छन्। तर त्यहीँ छुट्छ देवराज ढुंगेलको चप्पल। त्यही चप्पल र प्राविधिक अनुसन्धानको सहारामा प्रहरी उनीहरूलाई पक्राउ गर्न सफल हुन्छ। 

देवराजले उनीहरूबाट लिएको रकमले आफ्नो ऋण तिरेको बयान प्रहरीलाई दिएका छन्। दुवै जनालाई ललितपुर परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतले पहिलो पटक ७ दिनको म्याद दिएको एसएसपी होबिन्द्र बोगटीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad