आज (शनिबार) पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने तथा हावाहुरी आउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौुसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज देशका पहाडी भेगमा मेघगर्जन, चट्याङसहित असिना-पानी पर्ने सम्भावना छ भने पश्चिम तथा पूर्वी तराईमा हावाहुरीसमेत आउने संकेत देखिएको छ।
‘पूर्वका एक-दुई स्थानमा त अहिले पनि वर्षा भइरहेको छ,’ शनिबार बिहान उनले भनिन्, ‘अपराह्नपछि देशका अन्य भूभागमा पनि मौसम बदली भई वर्षा/हावाहुरी सुरु हुने देखिएको छ।’
काठमाडौं उपत्यकामा पनि आज अपराह्न चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ। ‘आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न,’ उनले भनिन्, ‘छिनछिनमा खुलेजस्तो भए पनि पुनः मौसम बदली भइहाल्छ।’
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ र असिनासहित वर्षा तथा पश्चिम र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद्का अनुसार अहिले देशमा स्थानीय वायु तथा पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त वायुसमेत प्रवेश गरिरहेको छ।
यसै कारण केही दिनयता नेपालमा मेघगर्जनसहित वर्षा हुनाका साथै तथा हावाहुरी आइरहेको हो।
प्रतिक्रिया