भद्रपुरमा एकसाथ होटल म्यानेजमेन्ट बढेका सुदीप र सविन इन्टर्नका लागि गोवा पुगेको वेला आगलागीमा परेर सँगसँगै अस्ताएका छन्।
भारतको गोवास्थित अरपोरा नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाउने २५ जनामध्ये पाँच जना नेपाली रहेको खुलेको छ। उनीहरूमध्ये दुई जना हुन्, झापाका सुदीप गुरुङ र सविन विश्वकर्मा। दुवैलाई गोवा डोर्याउने माध्यम थियो, इन्टर्नशिप।
झापाको कचनकवल गाउँपालिका-२ का २२ वर्षीय सुदीप महिनादिनअघि मात्रै गोवा गएका थिए। खासमा उनी एक वर्षअघि नै गोवा जान खोजेका थिए। तर, कक्षा १२ मा उत्तीर्ण हुन नसक्दा गोवा यात्रा रोकियो।
भद्रपुरस्थित एमरेल्ड एकेडेमीमा होटल म्यानेजमेन्ट पढेका उनी गत वर्ष उत्तीर्ण हुन सकेन। फेरि परीक्षा दिएपछि उनी इन्टर्नशिपका लागि गोवा गएको उनका दाइ (ठूलो बुवाको छोरा) अभिषेक गुरुङ बताउँछन्। ‘गएको कात्तिक १६ गते घरबाट हिडेको थियो, कात्तिक २० बाट इन्टर्न सुरु भएको थियो,’ अभिषेक भन्छन्।
उनलाई गोवा जान सहरा बनेका थिए, साथी सविन विश्वकर्मा। भद्रपुर नगरपालिका-३ का सविन र सुदिपले सँगसँगै होटल म्यानेजमेन्ट बढेका थिए। दुवै मिल्ने साथी थिए।
१९ वर्षीय सविन भने लगातार पास भएकाले अढाई वर्षअघि इन्टर्नशिपका लागि गोवा गएका थिए। इन्टर्नशिप सकिएपछि उनी उतै काम गरिरहेका थिए। परिवारजनका अनुसार, उनी गत दशैंमा घर आएका थिए। ‘आर्थिक अवस्था कमजोर छ, काम गरेर घर खर्च चलाइरहेका थिए,’ उनका मामा कुमार सेन्चुरी भन्छन्।
अहिले उनले सुदीपलाई पनि सँगै लगेका थिए। त्यही सुदीपको पनि इन्टर्नशिप थियो। ‘साथीसँगै सजिलो होला भनेर गएको थियो, दुवैको ज्यान गयो,’ सुदीपका दाइ अभिषेक भन्छन्।
दुवै साथी हुन्। एक साथ लेखपढ गरेका थिए। त्यसैले सुदीप पनि सविनसँगै गएका थिए। दुवै पढेको एमरेल्ड एकेडेमीका प्रिन्सिपल तिलक प्याकुरेल भन्छन्, ‘दुवै विद्यार्थी होटल म्यानेजमेन्टका सँगै पढ्ने साथी हुन्।’
बाख्रा पालेर पढाएका थिए सुदीपलाई
सुदीपको मृत्यु भएको खबर सुनेपछि परिवारजन शोकमा डुबेका छन्। ऋणदान गरेर लेखपढ गराएको छोराको मृत्युले बुवालाई झन पीडा भएको छ।
उनका बुवा बाख्रा पालन गर्छन्। त्यहीबाट आएको कमाइले सुदीपको पढाइ खर्च दिने गरेको दाइ अभिषेक बताउँछन्। ‘काकाले बाख्रा, खसी र कुखुरा फार्म चलाउँदै आएका छन्,’ अभिषेक भन्छन्, ‘आफूले दुःख गरे पनि सुदीपको इच्छा अनुसार नै होटल म्यानेजमेन्ट पढाएका थिए।’
छोरालाई नै राम्रो शिक्षा दिनका लागि कमल केही वर्षअघि विदेश गएका थिए। उनी पाँच वर्षअघि मात्रै घर फर्केका थिए। नेपाल फर्केपछि बाख्रा र कुखुरा पालेर दैनिकी चलाइरहेका छन्।
सविनका आमाबुवा नै विदेशमा
सविनको परिवारको आर्थिक अवस्था झन कमजोर छ। उनका आमाबुवा नै वैदेशिक रोजगारीमा गएका छन्। सविनले होटल म्यानेजमेन्ट पढ्दा पनि मामाले शुल्क तिरिदिने गरेको प्रिन्सिपल प्याकुरेल बताउँछन्। ‘सविनका मामा कुमार सेन्चुरी विद्यालयको फिस तिर्नको लागि आउने गरेको थिए, अरु धेरै थाहा छैन,’ उनले भने।
सविनकी आमा लालमाया विश्वकर्मा कुवेतमा छिन्। उनी एक वर्षअघि मात्रै विदेश गएकी हुन्। मामा कुमारका अनुसार, एक वर्षको दूधे छोरालाई छोडेर उनी कुवेत गएकी छन्।
त्यस्तै, सविनका बुवा टीकाराम विश्वकर्मा मलेसियामा छन्। उनी मलेसिया गएको धेरै वर्ष भइसकेको कुमार बताउँछन्।
बुवाले खासै पैसा पठाउने गरेका थिएनन्। त्यसैले उनकी आमा कमाउनका लागि विदेश गएकी गइन्। ‘आर्थिक अवस्था कमजोर छ। बिहान साँझ के खाऊँ भन्ने खालको छ,’ सविनकी माइजू शान्ति विश्वकर्मा भन्छिन्, ‘घरको दुःखले गर्दा केही कमाइ होला भनेर गोवा गएका थिए।’
भाइबहिनीको पढाई खर्च जुटाउने काम सविनले नै गरेका थिए। महिनाको २० हजार रुपैयाँ जति पठाउने गरेको माइजू शान्ति बताउँछिन्। ‘भान्जीको जिम्मा नै हामीलाई दिएको थियो,’ उनले भनिन्, ‘सविनकी नौ वर्षकी बहिनी र चार वर्षको भाइ हामीसँगै बसेका छन्।’
उनको मृत्युको खबरले परिवारनै शोकमा डुबेको छ। उनको मृत्युको खबर आमा र बुवालाई पनि खबर गरिएको छ।
गोवामा मृत्यु भएको पहिचान खुलेपछि सुदीप र सविनका परिवारजन मंगलबार मात्रै शव बुझ्न भारत गएका छन्। पहिचान गर्नको लागि केही समय लागेको कारण आज मात्रै उनीहरूको परिवार गोवा गएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
यो पनि पढ्नुहोस् : घरखर्च जोहो गर्न भारत पसेका थिए गोवाको आगलागीमा परेका २२ वर्षीय मनोज
Shares

प्रतिक्रिया