राजनीति


कांग्रेसका यी शीर्षनेता, जो पहिलो चरणमै फागुन २१ को चुनावका लागि उम्मेदवार सिफारिस भए

कांग्रेसका यी शीर्षनेता, जो पहिलो चरणमै फागुन २१ को चुनावका लागि उम्मेदवार सिफारिस भए

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार २२:१७, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा उम्मेदवार सिफारिश गर्ने क्रम सुरु भएको छ। मंगलबार अपराह्नसम्म कांग्रेसका शीर्ष नेताहरू विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। 

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत-१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस भएका छन्। २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यस्तै, कांग्रेस महामन्त्री गगन थापालाई धनकुटा र रोल्पाबाट उम्मेदवार सिफारिस गरिएको छ। उनी २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-४ बाट निर्वाचित भएका थिए। यस पटक भने धनकुटा र रोल्पाबाट पनि सिफारिश गरिएको हो। 

अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ बाट उम्मेदवार सिफारिस भएका छन्। उनी गत निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचित भएका थिए। 

अर्का प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ-६ बाट उम्मेदवार सिफारिस भएका छन्। गत निर्वाचनमा उनी यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। उनीहरू सबै सर्वसम्मन एकल उम्मेदवार सिफारिस भएका हुन्। 

पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्इ आरजु राणा देउवा कैलाली-५ बाट उम्मेदवार सिफारिस भएकी छन्। उनीसँगै थप तीन जनाको नाम पनि उम्मेदवारमा सिफारिस गरिएको छ। जसमा नरनारायण शाह (मनु), डिल्लीराज पन्त र नृप वड रहेका छन्। 

पूर्वमन्त्री महेश आचार्यलाई मोरङ-४ बाट उम्मेदवार सिफारिस गरिएको छ। उनीसँगै दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेतको नाम पनि सिफारिस गरेर पठाइएको छ। 

अर्को पूर्वमन्त्री मीनेन्द्र रिजाल मोरङ-२ बाट उम्मेदवार सिफारिस भएका छन्। उनीसँगै शिवनारायण सिंह र नारायणी पण्डितको नाम पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पठाइएको छ। 

सिन्धुपाल्चोक-१ बाट पूर्वमन्त्री मोहनबहादुर बस्नेतको नाम सिफारिस भएको छ। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेत गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। 

कांग्रेस नेता रमेश रिजाल पर्सा-४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस भएका छन्। उनी पनि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका हुन्। 

कांग्रेस उम्मेदवारका लागि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि सिफारिस भएका छन्। बैतडीबाट चन्दलाई उम्मेदवारमा सिफारिस गरिएको हो। 

यसैगरी, पूर्वमन्त्री हृदयराम थामी सुर्खेत-२ बाट उम्मेदवार सिफारिस भएका छन्। उनीसँगै उपेन्द्र थापा, कमल खत्री, नारायण कोइराला, भिष्मराज हमाल र वसन्ती बस्नेत उम्मेदवारमा सिफारिस भएका छन्। 

कांग्रेसका क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा नाम पठाएका हुन्। अब जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा नाम पठाउनेछ। प्रदेशले पठाएका नाममा छलफल गरेर कांग्रेस केन्द्रले उम्मेदावर घोषणा गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad