कोरोना भाइरस महामारी दुई वर्षसम्म लम्बिनसक्ने विज्ञहरुको एक समूहले तयार पारेको रिपोर्टले जनाएको छ।
विश्वकै जनसंख्याको दुई तिहाइ हिस्सासँग प्रतिरक्षा क्षमता नहुञ्जेल यसलाई नियन्त्रण गर्न मुस्किल पर्ने उनीहरुले बताएका छन्।
युनिभर्सिटी अफ मिनोसेटास्थित सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्च एन्ड पोलिसीले सो रिपोर्ट तयार गरेको हो।
लक्षण नदेखिई धेरै मानिसमा फैलिनसक्ने भएकाले कोरोना भाइरसलाई नियन्त्रण गर्न इन्फ्लुएन्जाभन्दा कठिन हुने उनीहरुको भनाइ छ।
भाइरस फैलिन नदिन विश्वका थुप्रै मुलुकले अर्बौँ जनसंख्यालाई लकडाउनमा राखेका छन्। अहिले उनीहरु सतर्कतापूर्वक लकडाउन खोल्ने तयारीमा छन्। तर, महामारी २०२२ सम्म लम्बिन सक्ने विज्ञहरुको भनाइ छ।
त्यसैले महामारीका बीचमा पनि जनसंख्यालाई सुरक्षित राख्न सक्नेगरी तयारी गर्न उनीहरुले सिफारिस गरेका छन्।
यो रिपोर्ट सीआईडीआरएपीका निर्देशक माइकल ओस्टरहोम, मेडिकल डाइरेक्टर क्रिस्टेन मुरलगायतले तयार गरेका हुन्।
विश्वका विभिन्न मुलुक अहिले कोरोना भाइरसविरुद्धको खोप बनाउन लागिपरेका छन्। एजेन्सी

प्रतिक्रिया