समाज


सञ्चारमन्त्री जगदीश खरेलबारे उनको गाउँका शिक्षक: यसले बोलेरै खान्छ भन्थ्यौँ, जस्तो भनेको त्यस्तै भयो

सञ्चारमन्त्री जगदीश खरेलबारे उनको गाउँका शिक्षक: यसले बोलेरै खान्छ भन्थ्यौँ, जस्तो भनेको त्यस्तै भयो

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १३:५०, दाेलखा

काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उनलाई विद्यालय शिक्षा दिने दाेलखाका गुरुहरू खुसी छन्। 

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा गाउँमा स्वागत गर्न पाउँदा कालीनाग माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रामबहादुर सिवाकोटीको खुसीको सीमा थिएन। सिवाकोटीले खरेललाई मन्त्री वा सञ्चारकर्मीका रूपमा भन्दा बढी आफ्नो विद्यार्थीका रूपमा सम्झन्छन्।

उत्तरी दोलखाको सिँघटीमा आयोजित हालैको एक कार्यक्रमका क्रममा सिवाकोटीले खरेललाई पढाउँदाका दिनको विगत सम्झना ताजा भएको बताए। 'खरेल विद्यार्थीकालमै भाषण कलामा तेज थिए, उनी तथ्य र तर्कसहित गज्जबको प्रस्तुति दिन्थे, विद्यालयका तत्कालीन प्रधानाध्यापक देवराज शर्माले यो भाइले बोलेरै खान्छ भन्नुहुन्थ्यो, नभन्दै त्यस्तै भयो,' उनले सुनाए।

बाल्यकालका तिनै विद्यार्थी खरेल हाल मन्त्री बनेका छन्। करिब २५ वर्ष टेलिभिजनका पर्दामा तथ्यलाई अगाडि सारेर नेता तथा राज्य सञ्चालकलाई खरो प्रश्न गर्ने उनको शैली धेरैले मन पराए। टेलिभिजन कर्मबाट विकास र सुशासनका पक्षमा आवाज उठाएकै कारण आज खरेल मन्त्री बनेका छन्।

निर्वतमान प्रधानाध्यापक सिवाकोटी आफूले पढाएको विद्यार्थीलाई मन्त्रीका रूपमा विद्यालयमा स्वागत तथा अभिनन्दन गर्न पाउँदा एकछिन भावुक भए। उनले भने, 'हामीले पढाएको विद्यार्थी मन्त्री हुनुभयो, हाल विद्यालयमा पढिरहेका विद्यार्थी पनि भोलि यो ओहदामा पुग्छन् भन्ने मेरो विश्वास अझ बलियो भएको छ। यसका लागि विद्यार्थीले अवसर पाउनुपर्ने र शिक्षक तथा अभिभावकले अवसर दिनुपर्ने आवश्यकता छ।'

सिवाकोटी फेरि बाल्यकालमै फर्किए। उनका अनुसार विद्यालयमा हुने वक्तृत्वकला, सांस्कृतिक पर्व, मेलाहरूमा खरेलको आवाज छुट्दैनथ्यो। वाककलामा मात्रै होइन, खेलकुदमा पनि उनी उत्तिकै अब्बल थिए। सहभागी भएपछि पदक नजित्ने कुनै खेल थिएनन्।

सिवाकोटीको भनाइ सुनेपछि सञ्चारमन्त्री खरेलले आफू एउटा जिम्मेवारीका साथ सरकारमा पुगेको र इमान्दारिताका साथ काम गरिरहेको बताए। उनले भने, 'हाल म जुन जिम्मेवारीमा छु, यो सम्पूर्ण उपलब्धिको श्रेय विद्यालय र गुरुवर्गलाई सुम्पन चाहन्छु।'

खरेलले सुनखानीको कालीनाथ माध्यमिक विद्यालयमा कक्षा १ देखि प्रवेशिका (१० कक्षा) सम्मको अध्ययन गरेका थिए। सञ्चारमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगेका मन्त्री खरेललाई विद्यालयले भव्य कार्यक्रमबीच अभिनन्दन गरेको थियो। उनलाई अभिनन्दन गरेपछि सिवाकोटीले फेरि भने, 'एउटा गुरुको हैसियतले मैले धेरै गर्न सकिन होला, जीवनमा कति काम लाग्ने कुरा सिकाएँ त्यो भन्न सक्दिनँ, तर जे भए पनि तपाईं यहाँसम्म आफ्नो मेहनत, इमान्दारिता र लगशीलताका कारण पुग्नुभएको हो, थपबढी प्रगतिको शुभकामना दिन्छु।'

सञ्चारमन्त्री खरेलले विद्यार्थी तथा अभिभावकले सपना बोकेर र कल्पना गरेर मात्र नहुने भन्दै जीवन सफल बनाउनका लागि ठूलो त्याग र मेहनत आवश्यक हुने धारणा राखे। उनले विद्यालयमा उपस्थिति बालबालिकालाई लक्षित गर्दै भने, 'अल्छीपन जीवनको शत्रु हो, त्यसैले जे कुरा गर्न चाहनुहुन्छ, आजैबाट सुरु गर्नुस् अनि तपाईं सफल हुनुहुन्छ। बच्चाको सफलताका लागि अभिभावकले व्यवहार, आचरण र सभ्यता सिकाउनु पर्छ।'

अध्ययन, खेलकुद, भाषणलगायत सबैखाले प्रतियोगितामा सुनखानीका विद्यार्थी अब्बल रहेको उल्लेख गर्दै मन्त्री खरेलले विद्यालयमा राजनीति नगर्न शिक्षक र अभिभावकलाई अनुरोध गरे।

विद्यार्थी रोशन आचार्यले पनि मन्त्रीका रूपमा अग्रजलाई स्वागत गर्न पाउँदा खुसी लागेको सुनाए। उनले भने, 'टेलिभिजनको पर्दामा देखेको व्यक्ति मन्त्री भएर विद्यालय आउँदा हामीलाई निकै खुसी लागेको छ, हामीलाई मेहनत गर्नका लागि अझ बढी हौसला मिलेको छ।'

त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले सञ्चारमन्त्रीलाई आफ्नो कार्यकालमा केही उदाहरणीय र दीर्घकालीन महत्त्वका कामलाई प्राथमिकता दिन सुझाव दिए।

कालिञ्चोक-७ का वडाध्यक्ष रामबहादुर पाण्डेले मन्त्री पाएकामा गौरवको अनुभूति भएको बताउँदै वडामा इन्टरनेट पूर्वाधार विकासका लागि सहजीकरणको अपेक्षा गरे। नागरिक समाज दोलखाका अध्यक्ष दीपशङ्खर चौलागाईंले खरेललाई सञ्चारमन्त्रीका रूपमा पाउँदा दोलखावासी खुसी भएको बताए। उनले परिवर्तनलाई आत्मसात् गरी नागरिक अधिकारको सुनिश्चित गर्न सबै गम्भीर हुनुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले विद्यालयको उन्नयनमा भूमिका खेलिनुपर्नेमा जोड दिए। विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्माले विद्यालयको शैक्षिक गुणस्तर बढाउन विभिन्न प्रयास भइरहेको जानकारी दिए।

यस्तै, कालिञ्चोक गाउँपालिका–८ का अध्यक्ष सूर्यबहादुर आचार्यले जिल्लाको धार्मिक पर्यटन विकासका लागि समन्वय र सहकार्य जरूरी भएको उल्लेख गरे।

सञ्चारमन्त्री खरेल कालिनाथ माध्यमिक विद्यालय प्राङ्गणमा आउने क्रममा स्थानीयवासीले उनको स्वागतका लागि फूलका गुच्छा लिएर सडकका दुई किनारमा धेरै सङ्ख्यामा जम्मा भएका गाउँले लामबद्ध देखिन्थे। उनलाई पञ्चेबाजाको धुनले स्वागत गरिएको थियो। सडकदेखि करिब एक किलोमिटरको पैदल यात्रामा स्थानीयको भव्य स्वागत लिएर विद्यालय प्राङ्गण प्रवेश गर्दा सयौँ विद्यार्थीले हातहातमा फूल र अबिर लिएर सञ्चारमन्त्रीको स्वागत गरेका थिए।

भ्रमणका क्रममा मन्त्री खरेलले सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रियासमेत गरेका थिए। उनले सुशासन प्रवर्द्धनका लागि नागरिक सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएाक थिए। उनले निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी गरेको र राजनीतिक दलहरूले पनि निर्वाचन माहोल बनाइरहेको भन्दै यसलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्न पनि आग्रह गरे।

चरिकोटमै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा पनि मन्त्री खरेल सहभागी भए। जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतसँग पनि सञ्चारमन्त्रीले भेटघाट तथा अन्तरक्रिया गरे। मन्त्री खरेलले जिल्लाका विभिन्न सरकारी कार्यालयको निरीक्षणसमेत गरेका थिए। उनले त्यहाँको कालिनाग मन्दिर र भीमेश्वर मन्दिरमा पूजाअर्चनासमेत गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad