समाज


आन्दोलनमा उत्रिएका पोखराका एक सय परिवारलाई राहत वितरण

आन्दोलनमा उत्रिएका पोखराका एक सय परिवारलाई राहत वितरण

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ३:२२,

राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी लकडाउनका कारणले दैनिक कामकाज बन्द हुँदा हातमुख जोड्नै समस्या भएको भन्दै कृष्ण टोलसहित पार्वती टोल, गणतन्त्र टोल र शिवटोलका स्थानीयवासी आन्दोलित भएपछि मङ्गलबार १०० परिवारलाई महानगरपालिकाले वडा कार्यालयमार्फत राहत वितरण गरेको हो।

राहत पाउनबाट आफूहरु वञ्चित भएको, लकडाउनले दैनिकी कष्टकर भएको र परिवार भोकै बस्नुपर्ने बाध्यता भएको भन्दै टोलवासीले राहत माग्दै आइतबार वडा कार्यालय तथा सोमबार महानगर कार्यालयमा उपस्थिति भएर नाराबाजीसहित धर्ना र घेराउ गरेका थिए।

सोही वडाका वडाध्यक्ष रामराज लामिछानेले राहत मागेर आन्दोलन गरेका परिवारलाई वडा सदस्यको नेतृत्वमा टोली पुगेर राहत वितरण गरिएको बताए। ‘राहत मागेर आन्दोलन गरेका १०० घरपरिवारलाई मङ्गलबार वडा सदस्यसहितको टोलीले राहत वितरण गरेको छ। हाललाई उनीहरुको चित्त बुझायौँ’, वडाध्यक्ष लामिछानेले भने। कृष्णटोलमा यसअघि पनि ५१ परिवारलाई राहत वितरण गरिएको थियो।

महानगरले चार वा सो भन्दा बढी सङ्ख्या भएको परिवारलाई पूरा प्याकेज र तीन जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराएको छ।

पूरा प्याकेजमा २५ केजी चामल, एक केजी नुन, एक लिटर तेल तथा आधा प्याकेजमा साढे १२ केजी चामल, एक केजी नुन, आधा लिटर तेल, रातो दाल एक केजी लगायत छ।

कृष्णटोल विकास संस्थाका उपाध्यक्ष कान्छा लामाले राहत माग गरेका केही परिवारलाई प्राप्त भए पनि अझै केही परिवार बाँकी रहेको बताए। साँझ–बिहान चुलो बन्द भएका परिवार यसबाट लाभान्वित भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad