जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी छन्।
१२ वैशाखको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गरेकी हुन्। स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुर्व्यवहार सहन नसकेर उजुरी दर्ता गरेको बताइन्।
‘मेरो नैतिकतामाथि नै प्रश्न उठ्ने गरी कार्यपालिकाको बैठकमा अपशब्द बोल्ने र ज्यान मार्ने योजना बनाएकाले कानूनी बाटो रोजेको हुँ’, उनले भनिन्। रोकायाले पत्रकार सम्मेलनमार्फत दुर्व्यवहार गरिएको घटनाको अडियोसमेत सार्वजनिक गरेकी छन्।
कार्यपालिकाको बैठकमा उपाध्यक्षमाथि अपशब्द बोल्नुका साथै दुर्व्यवहार गरेको आरोपसहितको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।
‘उपाध्यक्षले बैठकमा छलफल भइरहेको समयमा दुर्व्यवहार भएको भनी दर्ता जाहेरीबारे अनुसन्धान अगाडि बढाएका छौँ’, प्रनाउ धामीले भने। अधिकृत बुढासहित स्थानीय अमरजङ्ग शाहीविरुद्ध पनि उजुरी परेको प्रहरीले जनाएको छ।
घटनाबारे बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत बुढासँग सम्पर्क हुन सकेन। दुर्व्यवहारका अर्का आरोपित शाहीले १२ गते राहतसम्बन्धीको बैठक भइरहेको तर आफू बाहिर रहेको बताएका छन्। बैठकमा सामान्य भनाभन भए पनि हातपात नभएको उहाँले प्रतिक्रिया दिए।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उपाध्यक्ष रोकाया र प्रशासकीय अधिकृत बुढाबीच भनाभन भएको बताए।
यसअघि गाउँपालिकाले सबै नागरिकलाई २५ केजी नुनसहित ३० केजीका दरले सबै घरधुरीलाई चामल वितरण गरेको र त्यसमाथि उठेको गुनासोका बारेमा १२ गते बसेको कार्यपालिकाको बैठकमा छलफल भएको थियो। छलफलकै क्रममा उनीहरुबीच विवाद भएको हो। रासस

प्रतिक्रिया