स्थायी घर अछाम भई हाल भारतको मुम्बई निवासी एक नेपाली परिवारका ८ जना कोरोना भाइरसलाई जितेर नयाँ जीवन पाउन सफल भएका छन्।
अछाको चैरपाटी स्थायी ठेगाना भई हाल मुम्बईको गिरगाउँ चौपट्टी निवासी ती नेपाली परिवारका ११ सदस्यमध्ये ८ जना कोरोना संक्रमणमा परी निको हुन सफल भएका हुन्।
घरमूलीका अनुसार १२ वर्षीय छोरा, भाइबुहारी र भतिजीबाहेक परिवारका सबैलाई अघिल्लो महिना कोरोना भाइरसको संक्रमण भएको हो। त्यसबेला जिन्दगीकै ठूलो कष्ट भोगेको ४२ वर्षीय ती घरमूलीले बीबीसीसँग बताएका छन्।
घर मूलीका अनुसार भारतमा लकडाउन घोषणा गर्नुअघि सुरुमा कार चालक आफ्नो माइलो भाइलाई ज्वरो आएको थियो। विभिन्न अस्पतालमा जाँच गराएर औषधि खाँदासमेत निको भएन। त्यसपछि कोरोना आशंकामा परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टि भयो।
त्यसपछि परिवारका ११ जनाकै स्वाब परीक्षण गरिएको घर मूलीले बताएका छन्। त्यस क्रममा उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा पनि कोरोना संक्रमण रहेको पत्ता लाग्यो।
बीबीसी न्यूज नेपालीसँग ती घर मूलीले भनेका छन्, ‘विश्व कोरोना भाइरसको चपेटामा परेका बेला एकैचोटि परिवार नै तितरबितर हुने गरी संक्रमण देखिएपछि जिन्दगीमा अहिलेसम्मकै सबैभन्दा ठूलो कष्ट बेहोरेको अनुभूति भयो।’
तर मुम्बईका ट्रमा, कस्तुरवा र पी. डब्लू अस्पतालमा २२ देखि २५ दिनसम्म उपचार गरेपछि निको भएको उनले बताए। रोग लागे पनि आत्मबल बलियो बनाएकाले कोरोना भाइरसबाट आफ्नो परिवारले पार पाएको उनको भनाइ छ।
परिवारका सबैजना रोगबाट मुक्त हुन सफल भएको खुसी शब्दमा व्यक्त गर्न नसकिने उनी बताउँछन्। बीबीसँग उनले भनेका छन्, ‘अर्कै जुनी पाएजस्तो भएको छ।’

प्रतिक्रिया