भारतबाट खैरो हेरोइन ल्याइ काठमाडौंमा बिक्री वितरण गर्ने गिरोहका चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दुई जना नेपाली र दुई भारतीय नागरिक छन्।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले उनीहरूलाई ९५७ ग्राम खैरो हिरोइनसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
अवैध लागुऔषध खैरो हेरोइन बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएका प्रहरी टोलीले लागुऔषध कारोबारमा उनीहरूलाई नियन्त्रणमा लिएको ब्यूरोका सहप्रवक्ता डीएसपी चन्द्र भुसन यादवले जनाएका छन्।
यही कात्तिक २६ गते काठमाडौं महानगरपालिका–१३ पनेरु गाउँबाट सप्तरीको राजविराज नगरपालिका–६ ठेगाना भएका वर्ष ३९ को रवि आनन्द देवलाई उनको डेराकोठाबाट २७२ ग्राम खैरो हिरोइन बरामद गरी प्रहरीले उनलाई पक्राउ गरेको थियो।
थप अनुसन्धानको सिलसिलामा भारतको साउथ महेश्वरी हरीपुर अरारी १८ ठेगाना भएका वर्ष २३ को राजकुमार र भारतकै स्वस्तिक नगर जोगबनी अरारी ७ ठेगाना भएका वर्ष २१ को देवेन्द्रकुमार साह समेतले भारतीय नम्वर प्लेटको गाडी बीआर ०७बीई९९७३ स्कर्पियो रिजर्भ गरी काठमाडौं ल्याएको पाइएको छ।
उनीहरूले रवि आनन्द देवसँगलाई बिक्री गर्ने लागेको अवस्थामा चन्द्रागिरी नगरपालिका–१५ ढुंगे अड्डाबाट लागुऔषध खैरो हेरोइन ५९२ ग्राम सहित पक्राउ प्रहरीले पक्राउ गरेको थियो।
यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ ठेगाना भएका वर्ष २९ को पुष्प मगरलाई काठमाडौं– ३२ कोटेश्वरबाट कात्तिक २७ गते लागुऔषध खैरो हेरोइन ९३ ग्राम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरू उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
Shares

प्रतिक्रिया