समाज


डा.शेरबहादुर पुनको डायरीः यसरी सुरु भएको थियो नेपालमा कोरोना

डा.शेरबहादुर पुनको डायरीः यसरी सुरु भएको थियो नेपालमा कोरोना

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार २:३६,

सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहान सरहमा पहिलोपटक मानिसमा संक्रमण देखिएको नोबेल कोरोना भाइरसले अहिले विश्वभरजसो नै महामारीको रूप लिएको छ। जसका कारण हजारौं जनाको ज्यान गइसकेको छ भने लाखौं संक्रमित भएका छन्।

अहिलेसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाको संक्रमणमा परेकाको संख्या ५२ पुगेको छ। तर तीमध्ये १६ जना निको भइसकेका छन्। बाँकी बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।

आखिर नेपालमा कहिले र कसरी कोरोना भाइरसको संक्रमण सुरु भएको थियो?

यस विषयमा कोरोनासम्बन्धी उपचार गर्ने देशको केन्द्रीय अस्पताल- काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनले नेपालखबरसँग आफ्नो अनुभव यसरी सुनाएः

गत पुस अन्तिम साता (सन् २०१९ डिसेम्बर) तिर चीनको उहानमा सन् २००३ मा फैलिएकाे सार्स भाइरसको जस्तो लक्षण देखाउने एउटा नयाँ खालको भाइरस देखापरेको र त्यसले मानिसमा संक्रमण सुरु भएको चर्चा चल्न थाल्यो। जतिबेला त्यो भाइरस के हो भन्ने नामकरण भइसकेको थिएन।

त्यहाँ त्यस्तै ४० को हाराहारीमा मानिसमा संक्रमण भएको समाचार आइरहेको थियो। चीनबाहेक विश्वका अन्य देशमा यसबारे खासै चासो भइसकेको थिएन। तर मैले चाहिँ त्यो विषयमा निकै चासो दिइसकेको थिएँ। चीनबाहिर कतै कुनै चिकित्सकले यसबारे फाट्फुट्ट लेख्न थालेका भए म जान्दिनँ। नत्र सम्भवतः सार्सजस्तो लक्षण देखाउने त्यो (कोरोना, जतिबेला नामकरण भइसकेको थिएन) भाइरसबारे म नै चीनबाहिरको त्यस्तो चिकित्सक हुनुपर्छ, जसले विश्वमा पहिलोपटक कलम चलायो।

मैले पुस २० गते स्वास्थ्य खबर पत्रिकामा चीनको उहानमा सार्सजस्तो लक्षण देखाउने भाइरसको संक्रमण देखापरेको छ, त्यसले हाम्रो नेपालमा पनि प्रभाव पार्न सक्छ, त्यसकारण तयारी थाल्नु आवश्यक छ भन्ने आशयको लेख लेखेर जनचेतना जगाउने प्रयास गरें।

किनकि त्यतिबेला हामीकहाँ नेपाल भ्रमण वर्ष-२०२० पनि सुरु हुँदै थियो। त्यसकारण मैले त्यस लेखमा नेपालमा आउने पर्यटकमध्ये चिनियाँ नै धेरै हुने, साथै नेपालबाट पढ्नलगायत विभिन्न सिलसिलामा चीन जाने नेपालीको पनि संख्या निकै भएकाले त्यस संक्रमणप्रति अहिलेदेखि नै हामी सचेत हुनुपर्छ भन्ने कुरा लेखेको थिएँ।

नभन्दै त्यसको केही दिनपछि चीनको उहानबाट नेपाली विद्यार्थी फर्किने क्रम सुरु भयो। यहाँ हामीलाई केही थाहा नभए पनि उनीहरूलाई त त्यहाँ (उहान) को भयावह अवस्था थाहा थियो। त्यसैले त्यस्ता विद्यार्थी बिस्तारै टेकु (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) मा आउन थाले। म ओपीडीमा कार्यरत डाक्टर। त्यही भएर सुरुदेखि नै त्यस्ता शंकास्पद बिरामीको परीक्षणमा संलग्न भएँ।

त्यसरी चीनबाट फर्किने विद्यार्थी टेकु अस्पतालमा जँचाउन आउने क्रम बाक्लिँदै गयो। उनीहरू निकै आत्तिएका देखिन्थे। यहाँ नेपालमा न क्वारेन्टिन न आइसोलेसन, केही पनि थाहा थिएन। तर उताबाट फर्किने विद्यार्थीले भने त्यस्तो प्रक्रिया अपनाउन थालिसकेका रहेछन्। किनकि उनीहरूले उताबाट यो कुरा सिकिसकेका थिए।

जब त्यस्ता विद्यार्थी टेकु अस्पपतालमा आउन थाले, तब मैले त्यस भाइरस तथा संक्रमणबारे उनीहरूलाई परामर्श दिन थालें। परामर्श भन्ने कुरा २-४ मिनेट दिएर हुँदैन। एकै जनालाई आधा-एक घण्टासम्म दिनुपर्ने हुन्छ। यसकारण बिहान ९, साढे ९ बजे अस्पताल आइपुग्ने म साँझ ५-६ बजेसम्म खट्थें। यस क्रममा मैले त्यस्ता सयौं विद्यार्थीलाई परामर्श दिएँ हुँला।

यसरी नेपालमा पनि बिस्तारै कोरोनाको त्रास बढ्न थालेपछि मलाई फेरि अर्काे ठूलो चिन्ता के लाग्न थाल्याे भने नेपालमा जाडो मौसम, रुघाखोकी, फ्लु सुरु हुँदै छ। ओहो अब यो कोरोना संक्रमण र रुघाखोकी जुध्यो भने त मानिसमा ठूलो भ्रम र त्रास सिर्जना हुनेछ। त्यसैले तुरुन्तै फेरि स्वास्थ्य खबर पत्रिकामै अर्काे लेख लेखें- ती विद्यार्थीले व्यक्त गरेका लक्षण, चिन्तासमेत विश्लेषण गर्दै कोरोना र रुघाखोकीबीचको अन्योल चिर्ने गरी।

नभन्दै मानिसमा यसको अन्योलताले पनि ठूलै त्रास सिर्जना गर्‍याे। अलिकता सिंगान बग्नेबित्तिकै, ज्वरो आउनेबित्तिकै र सामान्य खोकी लाग्नेबित्तिकै मानिस आत्तिन थाले र अस्पताल धाउन थाले। 

यहीबीच सिन्धुपाल्चोकतिर हो क्यारे। एकैपटक गाउँभरिका मानिसमा रुघाखोकीका लक्षण देखियाे। मानिस आत्तिन थाले। लौ, कोरोनाले खत्तम बनायो! त्यस विषयमा पनि मैले काठमाडौंमा सिन्धुपाल्चोकका मानिससँग छलफल गरें र भ्रम हटाउने कोसिस गरें। वास्तवमा उनीहरूलाई मौसमी फ्लु भएकाे रहेछ।

मैले सुरुदेखि नै सकारात्मक पक्षमै जोड दिइरहेको छु। जब कोरोनाको हल्ला नेपालमा आइपुग्यो तब कसैले अलिकता खोक्यो भने पनि उसलाई हेर्ने दृष्टि अर्कै भइसकेको थियो। चीनबाट आएको भनेपछि त झन् उसलाई गर्ने व्यवहारै फरक हुन थाल्यो। वास्तवमा यो मनोवैज्ञानिक त्रास थियो।

रुघाखोकी र कोरोनामा अन्योल
यही अन्योलका कारण होला- एक जना यस्ता व्यक्ति पनि कोरोना परीक्षण गरिदेऊ भन्न आए कि जो भन्दै थिए- मेरा रुमपाटनरलाई नाकबाट सिंगान बग्न थालेको छ, कतै मलाई कोरोना सर्‍यो कि! मलाई लाग्छ-  सरकारी सूचनाले मानिसमा भ्रम पैदा गरेको हुनुपर्छ। किनकि रुघाखोकीलाई बुझ्ने तरिका देशैपिच्छे फरक हुन्छ।

विदेशमा रुघाखोकीलाई जसरी बुझिन्छ, हाम्रो देशमा फरक ढंगले बुझिन्छ। हामीकहाँ नाकबाट पानी बग्नेबित्तिकै रुघाखोकी भनेर बुझ्ने चलन छ। अंग्रेजीमा दिइएको सूचनाचाहिँ ठीकै थियो। किनकि त्यहाँ कफ भनिएको थियो, कफ भनेपछि त्यहाँ खोकी पनि जोडिन्छ।

मेरो धर्म हो- आफूले जानेका, अनुसन्धानबाट थाहा पाएका कुरा त मैले सबैलाई दिनुपर्छ। यसैले यस विषयमा मैले निरन्तर लेख लेखें र भ्रम हटाउने सक्दो प्रयास गरें। अस्पतालमा त्रसित भएर आउनेहरूलाई व्यापक परामर्श दिन थालें। समकक्षी साथीहरूले पनि मलाई परामर्शकै लागि अनुरोध गर्थे।

मेरो मान्यता के छ भने हामीकहाँ आउने बिरामी सन्तुष्ट भएर फर्किन सकेनन् भने हामी फेल। त्यसैले म आफूकहाँ आउने बिरामीलाई सकेसम्म सम्झाएर बुझाएर पठाउने गर्छु। उसमा रोगभन्दा पनि त्रास र भ्रम ठूलो छ भने त त्यो नहटाई ऊ कसरी स्वस्थ हुन सक्छ? त्यसकारण म परामर्शमा बढी जोड दिन्छु। डेंगुका बेला त परामर्श दिँदा-दिँदा मेरो स्वरै सुकेको थियो।

कोरोना महामारीयता निद्रा कम
कोरोना संक्रमण सुरु भएयता मेरो सुत्ने समय पनि निकै कम भएको छ। उसो त पहिले पनि म अस्पतालबाट फर्केपछि राति अबेरसम्म अध्ययन अनुसन्धान गर्ने मानिस हुँ। तर कोरोना महामारीयता यो क्रम अझ बढेर गएको छ।

यसबारेका नयाँ-नयाँ अनुसन्धान/अध्ययन तथा त्यो हाम्रो परिवेशमा कसरी बुझाउने भन्ने विषयमा सोच्दासोच्दै, लेख्दालेख्दै कहिलेकाहीं त रातको १-२ पनि बज्छ। फेरि बिहान ५ बजेपछि उठ्ने मेरो बानी छ। यस हिसाबले कोरोना संक्रमण सुरु भएयता मेरो निद्रा निकै कम भएको छ।

संक्रमणको सुरुवात
अँ म भन्दै थिएँ- त्यसरी चीनबाट फर्किएका विद्यार्थी अस्पतालमा जँचाउन आउने क्रममा एक जनामा चाहिँ कोरोनाको अलि बढी नै लक्षण मिलेको पाइयो। नभन्दै उनलाई कोरोना भाइरसको  संक्रमण पुष्टि भयो। जुन नेपालका पहिलो कोरोना संक्रमित थिए। अहिले निको भइसकेका छन्।

पहिलाे संक्रमण माघ २ गते पुष्टि भएकाे थियाे। जतिबेला काेराेना परीक्षण गर्न नमुना विदेश पठाउनुपर्थ्याे। त्यसको २ महिनापछि दोस्रो संक्रमित फेला परे। त्यसपछि फाटफुट संक्रमण देखिन थाले भने वैशाख सुरु भएयता संक्रमित भेटिने क्रम बढेको छ।

हवाई मार्गबाट भन्दा स्थलमार्गबाट जोखिम
मेरो अनुभवमा हवाई मार्गबाट आउनेबाट भन्दा स्थलमार्गबाट आउनेहरूबाट कोरोना संक्रमण बढी फैलिएको छ।मलाई के लाग्छ भने जो हवाई जहाजमा आए ती प्रायः पढ्नका लागि विदेश गएकाहरू हुन्। जो अहिलेको विज्ञान र अनलाइनमा अपडेट छन्। जसले गर्दा उनीहरू कोरोनाबाट बच्ने तथा आफू क्वारेन्टिनमा बसेर अरूलाई पनि बचाउने विषयमा जानकार छन्।

तर भारतबाट भित्रिनेहरू धेरैजसाे मजदुरीका लागि गएका गरिब व्यक्ति हुन्। जोसँग स्वाभाविक रूपमा सूचना, स्राेत/साधन, शिक्षा र जानकारीको अभाव रहन्छ। त्यसमा हाम्रो पनि कमजोरी होला, जसलाई हामीले बुझाउन सकेनौं/सकिरहेका छैनाैँ। त्यसकारण मलाई लाग्छ- अहिले हामीले खासगरी भारतीय नाकामा बढी कडाइ गर्न जरुरी छ। र, त्यहाँबाट भित्रिनेहरूलाई बढी बुझाउन जरुरी छ।

याे पनि:

डा. शेरबहादुर पुन भन्छन्ः यसकारण नेपालमा कोरोना भयावह हुँदैन भन्नेमा म दृढ छु

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .