छापा खबर


ओलीलाई एक पद छाड्न नेपाल समूहको दबाब

ओलीलाई एक पद छाड्न नेपाल समूहको दबाब

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार २:४३,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि नेताहरुले सक्रियता बढाए पनि सहमतिको उपाय निस्कन सकेको छैन।

पार्टी अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाल र माधवकुमार नेपालले भेटघाट तीव्र बनाएका छन्।

आफू नेतृत्वको सरकार अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री ओलीले नेपाल समूहलाई आफ्नो पक्षमा पार्न निकटकालाई सक्रिय बनाए पनि यो प्रयासले सोमबार मूर्तरुप लिन नसकेको खबर आजको नागरिक दैनिकमा अनन्तराज लुइँटेलले लेखेका छन्। पार्टीभित्र पेलाइमा परेको नेपाल समूहले सहमतिका लागि ओली पक्षसँग ठोस प्रस्ताव लिएर आउन आग्रह गरेको छ।

ओली पक्षले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र त्यसमा केही नेतालाई व्यवस्थापन गर्ने प्रस्ताव अघि बढाएको छ। नेपाल समूहका नेताहरु भने एक व्यक्ति एक जिम्मेवारीको विषय कार्यान्वयन गर्ने र सरकार सञ्चालन पूर्णतः पार्टी नियन्त्रण हुनुपर्ने पक्षमा देखिएका छन्।

ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने अडान उनीहरुको छ। यसमा ओली पक्ष सहमत नहुँदा सोमबार भएको दुईपक्षीय बैठक सहमतिमा पुग्न सकेन। उनीहरुबीच सचिवालय बैठक र स्थायी समिति बैठकबाट सहमति खोज्ने समझदारी भने बनेको छ।

बैठकमा सहभागी स्थायी समिति सदस्य भीम रावलका अनुसार पार्टीभित्र उत्पन्न पछिल्लो अवस्था र विधि मिचेर गरिएका निर्णयबारे छलफल भएको थियो।

‘पछिल्लो समय सरकारले गरेका निर्णयका कारण पार्टीको छवि धमिलिँदै गएको र गर्न नहुने कार्यलाई सरकारले प्राथमिकतामा राखेर पार्टी एकता कमजोर बनाउने काम भएको कुरा उठ्यो’, उनले भने। उनका अनुसार ओली समूहका नेताहरुले गल्ती कमजोरी खोज्न र मिल्न प्रस्ताव राखेका थिए।

ओली पक्षका शंकर पोखरेलले पार्टीभित्र उत्पन्न समस्याबारे गम्भीर ढंगले छलफल गर्न प्रस्ताव राखेका थिए।

यसअघि आइतबार नेपालनिकटका स्थायी समितिका सदस्यहरुको भेलाले पटकपटक धोका भएका कारण ओली पार्टी सञ्चालनको विधि र प्रक्रियासहित प्याकेज सहमतिका लागि तयार नभए सरकारलाई समर्थन गरिरहनुको औचित्य नभएको निष्कर्ष निकालेका थिए।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालनिकट दोस्रो तहका नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल, गोकर्ण विष्टलगायतले सरकार र पार्टीमा ओलीको विकल्प खोज्ने विषयमा केन्द्रित रहेर छलफल गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .