समाज


भोकालाई भोजन गराउन जसले बेचिदिए ४० लाखको आफ्नो जग्गै

भोकालाई भोजन गराउन जसले बेचिदिए ४० लाखको आफ्नो जग्गै

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ४:२,

कोरोना भाइरसको महामारीका कारण केही हप्तायता लगभग विश्व नै लकडाउन अर्थात् बन्दाबन्दीमा छ। जसका कारण विभिन्न देशका गरिब र असहाय मानिस कोरोनाको भन्दा भोकले बढी पिल्सिइरहेका छन्।

यस क्रममा कतिपय मनकारी र परोकारी मानिससले भोकले छटपटिएका गरिब, मजदुर तथा असहायलाई खाना खुवाएर मानवता प्रदर्शन गरिरहेका छन्।

यसै क्रममा भारतको कर्नाटक राज्यका दुई दाजुभाइले भने त्यस्ता भोका मानिसलाई खाना खुवाउन आफ्नो जग्गै बेचिदिएका छन्।

कर्नाटक राज्यको कोलारमा बस्ने दाजुभाइ मुजम्मिल र तजम्मुलले लकडाउनमा गरिबलाई खाना खुवाउन २५ लाख भारु (नेपाली ४० लाख) बराबरको आफ्नो जमिन नै बेचेका हुन्।

बीबीसीका अनुसार ३७ वर्षीय मुजम्मिलले लकडाउनका कारण धेरैजसो गरिब भोकमरीसँग जुधिरहेको थाहा पाएपछि आफ्नो जमिन नै बेचेर सहयोग गर्न मन लागेको बताएका छन्।

बीबीसीसँग उनले भनेका छन्, ‘हामीलाई लाग्यो- धेरैजसो मानिस गरिब छन्, जोसँग खानेकुरा पनि छैन। कुनै समयमा हामी पनि असाध्यै गरिब थियौं।’

आफ्नो बगानका वस्तु भण्डारण गर्ने जमिन साथीलाई २५ लाख भारुमा बेचेर गरिबलाई खानाको व्यवस्था गरिएको दाजुभाइले बताएका छन्।

साथै अन्य धेरै साथीले पनि ५० हजारदेखि १ लाखसम्म सहयोग गरिरहेको ती दाजुभाइले बताएका छन्।

मुजम्मिलका अनुसार खान नपाएका गरिबलाई प्रतिव्यक्ति १० किलो चामल, २ किलो आटा, १-१ किलो दाल र चिनी, सय-सय ग्राम धनियाँ, रातो खुर्सानी, बेसार, नुन, साबुनलगायत अन्य उपभोग्य सामान पनि दिने गरिएको छ।

रमजान सुरु भएको दुई दिनमा करिब ३ हजार व्यक्तिलाई यस्तो सहयोग गरिएको उनले बताएका छन्।

यी दुई दाजुभाइले सानै छँदा आमाबुबा गुमाएका थिए भने त्यसको ४० दिन नबित्दै आमाको पनि निधन भएको थियो। यी दाजुभाइलाई हजुरआमाले हुर्काएकी हुन्।

मुजम्मिलले बीबीसँग भनेका छन्, ‘हामी खासै पढेलेखेका छैनौं। सन् १९९५-९६ मा हामीले हरेक दिन १५ देखि १८ रुपैयाँसम्म कमाउँथ्यौं। केही वर्षपछि मेरा दाइले मन्डी व्यापार सुरु गर्नेबारे सोचे।’

अहिले मन्डी व्यवसायसँगै ती दाजुभाइले आन्ध्र प्रदेश र तमिलनाडुबाट केरा ल्याउँछन् र डिलरसँग थोक व्यापार गर्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad