समाज


घरमा सुत्केरी पत्नी, राहतका लागि वडा कार्यालयमा पतिको धर्ना

घरमा सुत्केरी पत्नी, राहतका लागि वडा कार्यालयमा पतिको धर्ना

कृृष्ण दवाडी
बैशाख १५, २०७७ सोमबार ३:५०,

पोखरा महानगरपालिका-९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल।

अधिकांश सुकुम्वासी परिवार बस्ने कृष्ण टोलमा कोरोनाबाट प्रभावित मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर वडामा पठायो तर राहत आयो जम्मा ५४ परिवारलाई मात्र।

केहीको नागरिकता नभएको तथा कोहीलाई कागजपत्र पूरा नभएको भन्दै वडाले राहत दिएन। दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने बस्तीका अधिकांशले राहत पाउन नसकेपछि उनीहरुले पटक/पटक वडाको ध्यानाकर्षण गराए।

वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दासमेत राहत नआएपछि उनीहरुले आइतबार वडा कार्यालयमा धर्ना दिए। सोही धर्नामा थिए, ३९ वर्षीय वीरबहादुर विश्वकर्मा।

दैनिक ज्यालादारीबाट कमाएको पैसाले परिवार पाल्दै आएका विश्वकर्माको लकडाउनपछि आम्दानी छैन। पाँच जनाको परिवार छ। दुई महिनाकी सुत्केरी श्रीमती घरमा छिन्। सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोसिलो खानेकुरा त परै जाओस् साँझ बिहान दुई छाक खाने अन्नसमेत छैन।

लकडाउनको एक महिना छिमेकीसँग पैँचो मागेर भए पनि सुत्केरी श्रीमती र तीन बालबच्चाको पेट भरेका उनको घरमा अहिले पकाउने केही पनि छैन। घरमा चुलो बाल्ने उपाय नभएपछि शनिबार पौरखी समूहले व्यवस्था गरेको पाँच प्याकेट खाना सबैले बाँडेर छाक टारे।

साँझ माइली भाउजूले दिएको चामल र छिमेकी दिदी पर्नेले दिएको दालले शनिबार साँझ र आइतबार बिहानको चुलो बलेको तर अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले अन्य टोलवासीसहित वडामा राहतका लागि धर्नामा आएको उनले बताए।

‘घरमा सुत्केरी श्रीमती छन्, कति दिन अरुसँग चामल र दाल मागेर परिवार पाल्नु? अहिले सबैको अवस्था मेरोजस्तै हो नि। सरकारले कि हामीलाई काम गर्न जान दिनुप¥र्यो नत्र परिवार पाल्न राहत चाहियो’, विश्वकर्माको भने।

नागरिकता नभएकाले नै आफूलाई राहत पाउनबाट वञ्चित गरिएको हुनसक्ने उनको अनुमान छ। वर्षौंदेखि मुस्ताङबाट आएर पोखरामा बसोबास गरेको बताउँदै उनले एक पटक बनाएको नागरिकता हराएपछि पुनः अर्को नबनाएको बताए।

राहत माग्दै कृष्ण टोल, पार्वती टोल र शान्तिनगर टोलका २ सय हाराहारीका उनीहरुले बास्तोलाथरमा रहेको वडा कार्यालयमा मध्याह्नदेखि धर्ना दिएका थिए।

प्रभावित परिवारको भीडभाड बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाकर्मी र वडाका कर्मचारीको पहलमा उनीहरुको नाम सङ्कलन गरिएको थियो।

टोल विकास संस्थाका उपाध्यक्षसमेत रहेका कान्छा लामाले टोल विकास संस्थाबाट १९४ कै नामावली वडामा पेश गरिएकामा चैत २७ गते ५४ परिवारलाई राहत वितरण गरिएकामा अन्य परिवारले राहत नपाएको बताए।

वडाध्यक्ष र सचिवलाई पाँच दिनअघि वडामा आएर राहतका लागि आग्रह गर्दा दुई दिन पर्खिन भने पनि केही सहयोग नपाएपछि टोलवासी वडामा धर्नाका लागि आएका हुन्। वडाध्यक्ष सम्पर्कमा आएका छैनन्।

‘वडाले पक्षपात गरेको छ, एउटै वडामा भए पनि कोहीलाई राति÷राति घरमा राहत पु¥याउने, हामीले चाहिँ सरकारको राहत कस्तो हुन्छ कहिल्यै देख्न पनि नपाउने?’, लामाले आक्रोश व्यक्त गरे।

वडाध्यक्ष रामराज लामिछानेले राहतका लागि प्राप्त एक हजार ९४५ आवेदनमध्येबाट पहिलो चरणमा ६८८ परिवारलाई राहत वितरण गरिएको बताए। राहत पाउनुपर्ने वास्तविकरुपमा प्रभावित कोही छुटेको भए दोस्रो चरणमा दिइने उनको भनाई छ।

एउटै व्यक्तिले पटक/पटक राहत लिने प्रवृत्ति रहेको भन्दै उनले दोस्रो चरणको राहत वितरण गर्नुअघि पहिलो चरणमा राहत पाएका सबैको नामावली मागिने र छुटेकालाई वितरण गरिने बताए।

‘राहत वितरणलाई प्रभावकारी बनाउन वडासदस्यको नेतृत्वमा सबै टोल विकास संस्थाका अध्यक्षसहितको वितरण समितिमार्फत राहत दिएका हौँँ। छुटेकालाई केही दाता खोजेर पनि छुट्टै दिएका छौँ, वडाध्यक्ष लामिछानेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad