कारोबार


लकडाउन उपयोग : झाडी फाँडेर मकै, बाँझो जमीनमा केरा खेती

लकडाउन उपयोग : झाडी फाँडेर मकै, बाँझो जमीनमा केरा खेती

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ४:१८,

बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन शुरु भएपछि घर फर्किए। बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उनी १० वर्षयता यतिका धेरै समय बस्ने गरी गएको यो पहिलोपटक हो।

घर छोडेर बजारमा बस्न थालेपछि उनले घरछेउको बारी कोतर्ने कोही थिएनन्। न त घरमा खेती गरेर खानसक्ने कोही बस्थे।

राजु बजार झरेसँगै घर छेउको बारी बाँझियो, जङ्गली जनावरको बासस्थानजस्तै झाडी बन्यो। लकडाउनको पालना गर्न घर पुगेका उनले सात वर्षपछि अहिले बारी खनजोत सुरु गरेका छन्। झाडीमा बदलिएको बारीले लकडाउनकै कारण सुसार पाएको छ।

घर छेउमा रहेको सात रोपनी बारीमा उनले मकै छरेका छन् ‘घर बस्न नपाएर बाँझिएको बारीमा चितुवा नै बस्छ जस्तो थियो,’ हमालले भने, ‘यसपालि फुर्सदमा घर बसियो, सबै झाडी फाँडेर मकै लगाएँ। अब बारी बाँझो नराख्ने सोच बनाएको छु।’

झाडीले पुरेको बारी खनजोत नभएकै कारण अनकन्टार बन्दै थियो। प्रविधिले उनलाई साथ दियो र मिनिपावर ट्रिलरले बारी कोतरे। ‘गोरु नपाइने, जोत्ने मान्छे पनि नहुने’, उनले भने, ‘अब त मेशिनले जोतेरै भए पनि खेती गर्छु।’

हमालले जस्तै बागलुङका धेरै गाउँमा युवाले लकडाउनको समयको सदुपयोग गर्दै बाँझो जोतेर खेती गर्न थालेका छन्। जिल्लाकै जैमिनी नगरपालिका–१ कुश्मीशेरामा लकडाउनकै समयमा एक हजार केराका बिरुवा लगाइएको छ।

केरा पकेट क्षेत्र घोषण भएको वडामा रहेका बाँझो खेतबारीमा केराका बिरुवा लगाइएको हो। लकडाउनमा बाहिरबाट गाउँ फर्केका युवाले केरा लगाउन घरमा भएका आफन्तलाई सघाइरहेका छन्।

पकेट क्षेत्र भएकाले केराका बिरुवा त रोपिन्थे नै तर लकडाउनमा घर फर्केका युवाका कारण खाडल बनाउने, मलदिने र बिरुवा लगाउने काममा सहज भएको स्थानीय किसान भीम शर्माले बताए।

जैमिनीमा केराका बिरुवा लगाउनका लागि कृषि प्राविधिक पनि खटिएका छन्।

‘लकडाउनको पालना गर्दै कृषि कर्म गर्न सकिन्छ भनेर सबै किसानालाई उत्साहित बनाइरहेका छौँ’, नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले भने, ‘हामीले बारीमै पुगेर सल्लाह दिएका छौँ, उहाँहरु सामाजिक दूरी कायम राखेर काम गरिरहनु भएको छ।’

बाँझो रहेको जमीन र खाद्यान्न बाली कम उत्पादन हुने क्षेत्रमा केरा बाली लगाउन सल्लाह दिइएको शर्माले बताए। साविकको कुश्मीशेरा गाविसका वडा नम्बर १, २, ३ का किसानले धान फल्ने खेतमा समेत केरा लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad